भारतीयलाई सीमामा कडाइ

सरकारले कोरोनाका कारण लामो समयदेखि बन्द भारतसँग जोडिएका सबै नाकाहरू खुला गर्ने निर्णय गरे पनि भारतीय नागरिकलाई नेपाल प्रवेश गरेको कडाइ भने यथावत् राखेको छ । जिल्ला प्रशासन कार्यालयलाई प्राप्त निर्देशनअनुसार भारतीय नागरिकको हकमा भने कुनै परिवर्तन भएको छैन ।

जिल्ला प्रशासन कार्यालयलाई प्राप्त परिपत्रअनुसार भारतीय तथा भिसा लागू हुने तेस्रो मुलुकको नागरिकको हकमा ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट र गृह मन्त्रालयअन्तर्गतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अनलाइन फारम भरेर मात्रै आउन पाउने व्यवस्था छ ।

‘तेस्रो मुलुकका पर्यटकको हकमा पहिलो पटक सडक मार्गबाट आवागमन खुला गरिएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘भारतीयको हकमा भने कुनै परिवर्तन भएको छैन ।’

भारतीय नम्बरका सवारीसाधन भने कोरोना संक्रमणभन्दा पूर्ववत् अवस्थामा आउजाउ गर्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बुधबार पत्र प्राप्त भएको छ । बिहीबारदेखि भारतीय नम्बरका सवारीसाधनहरू भन्सार तिरेर वा सुविधा लिएर आउजाउ गर्न सक्नेछन् । ‘भोलिदेखि नै भारतीय नम्बरका सवारीसाधनहरू आउजाउ गर्न सक्नेछन्,’ उनले भने ।

सरकारले गत साता भारतसँग जोडिएका सबै नाका खुला गर्ने निर्णय गरेको थियो । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका यसअघिदेखि नै खुला गरिएका थिए । भारतीय नागरिकलाई गरिएको कडाइ खुकुलो हुने अनुमान गरिएको थियो ।

तर सरकारले भारतीय नागरिकको हकमा कुनै परिवर्तन गरेको छैन । भारतीय नागरिकको आवागमनमा गरिएको कडाइका कारण यहाँको व्यापार व्यवसायलगायत पर्यटन क्षेत्रसमेत प्रभावित भएको व्यवसायीहरू बताउँछन् । उनीहरूले पटकपटक नाकामा आवागमन सहजताका लागि आग्रह गर्दै आएका छन् ।

‘हाम्रो व्यापार व्यवसाय सबै भारतीय नागरिकमै निर्भर छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘सबैथोक खुला भइरहेको अवस्थामा भारतीय नागरिकको हकमा मात्रै कडाइ गरिनु उचित होइन ।’ उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर भारतीय नागरिकलाई पनि पूर्ववत् अवस्थामै आउजाउ गर्न दिइनुपर्ने बताए ।


१४ असोज २०७८, बिहीवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु