डोटीको दिपायल विमानस्थल पुनः सञ्चालनमा
कोरोना कहरका कारण बन्द रहेको डोटीको दिपायल विमानस्थलमा पुनः विमान सञ्चालन भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको समयमा यहाँ विमान सञ्चालन भएका थिएनन् ।
अहिले कोरोना जोखिम कम हुँदै गएपछि पुनः विमान सञ्चालन भएको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । दिपायलदेखि धनगढी विमानस्थलमा हप्ताको एक दिन विमान सञ्चालन हुने नागरिक उड्डयन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानले दिपायलबाट धनगढीका लागि प्रत्येक शनिवार उडान भर्ने कार्यतालिका छ ।
निजी क्षेत्रको विमान कम्पनी समिट एअरले पनि उडान भर्ने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले बताए ।बन्द रहेको विमानस्थल पुनः सञ्चालन भएसँगै विमानस्थलमा जडान गरिएका सञ्चार उपकरण पनि मर्मत गरिएको छ ।
१८ सिट क्षमताका विमानले धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायल धनगढीका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका छ ।
डोटी नागरिक उड्डयन तथा प्राधिकरण कार्यालयका अनुसार अहिलेलाई दिपायलदेखि धनगढीसम्मको टिकट तीन हजार चार सय रुपैयाँ तोकिएको छ ।
३ असोज २०७८, आइतवार २०:०० बजे प्रकाशित































