केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन एमालेको विधानमै रोक !
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ ।
आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । ‘पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ’, एक स्थायी कमिटी सदस्यले भने ।
स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् ।
एएमाले अध्यक्ष ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ को आम चुनावपछि उनी फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत नपाएसँगै पदमुक्त भए ।
त्यसको तीन दिनपछि संविधानको धारा ७६९३० अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत नलिई संविधानको धारा ७६ ९५० बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।
त्यसपछि ओलीले विघटन गरेको प्रतिनिधिससभा २८ असारमा सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली पदच्यूत भएका थिए ।
३ असोज २०७८, आइतवार १९:४२ बजे प्रकाशित































