सुदूरपश्चिममा प्रदेश इन्चार्जको विवादले एमाले कार्यकर्ता विभाजित, रावल थप कमजोर
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्जको विवादले कार्यकर्ता पनि विभाजित बनेका छन् । प्रदेशको इन्चार्ज आफू भएको दाबी गर्ने नेता द्वय डा. भीम रावल र लेखराज भट्ट एकैसाथ सुदूरपश्चिम आएपछि कार्यकर्ता विभाजित भएको प्रष्ट देखिएको छ ।
एमाले अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज घोषणा गरेपछि असन्तुष्ट देखिएका रावलले २०७५ जेठ २ अघिको तत्कालीन एमालेकै संरचना अनुसार आफूनै प्रदेशको संयोजक भएको बताउँदै आएका छन् । ओलीले अब २०७५ जेठ २ को रटान नगर्न भनिरहँदा रावल भने जेठ २ गते अघिको संरचना अनुसार पार्टी लैजाने भनेर १० बुँदे सहमती भएको र त्यो कार्यान्वयन भएको दाबी गरिरहेका छन् ।
रावलले १० बुँदे सम्झौता कार्यान्वयन भएको र त्यस अनुसार आफू प्रदेश संयोजक भएको दाबी गरिरहँदा भट्टले भने १० बुँदे सम्झौताको कुनै औचित्य नभएको भन्दै ओलीले नै आफूलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको बताइरहेका छन् ।
उनी अहिलेको नेकपा एमाले एकीकृत एमाले भएकाले तत्कालीन नेकपाकै संरचनामा क्रियाशील रहेकाले प्रदेश संयोजक पद नरहेको बताउँछन् । दुबै नेताले सुदूरपश्चिममा विभिन्न कार्यक्रममा गएर यही अभिव्यक्ति सार्वजनिक रुपमा भनिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका दुबै प्रभाशाली नेता प्रदेश इन्चार्जका लागि एक आपसमा विभाजित बन्दा कार्यकर्ता पनि विभाजिन बन्न पुगेका छन् । एमालेमा ओली पक्षीय तथा एमालेमै रहेका माआबादी केन्द्रका नेता कार्यकर्ताहरु भट्टको समर्थनमा छन् भने तत्कालीन अवस्थामा माधव पक्षमा रहेर एमालेमै बसेका कार्यकर्ता रावलको पछाडि छन् ।
्
भट्ट सहभागी भएको कार्यक्रममा तत्कालीन अवस्थामा माधव पक्षमा रहेर एमालेमै रहेका नेता कार्यकर्ता सहभागी भएका छैनन् । त्यस्तै, रावल सहभागी भएको कार्यक्रममा ओली पक्षीय नेता तथा कार्यकर्ताहरु उपस्थित भइरहेका छैनन् । जुन दृष्य नेता भट्ट सुदूरपश्चिम आएदेखि देखिन थालिसकेको छ ।
रावल थप कमजोर
तत्कालीन अवस्थामा माधव नेपाल पक्षमा रहेको नेता कार्यकर्ताहरु नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी)मा गएपछि रावल गृहप्रदेशमा केही कमजोर भएकै थिए । त्यसैमाथि अहिले प्रदेश इन्चार्जको विषयमा विवाद भइरहेका बेला कार्यकर्ता विभाजित बनेपछि रावल थप कमजोर देखिएका एमालेकै एक नेता बताउँछन् ।
‘कि ओलीले उनलाई इन्चार्ज दिएको भए हुन्थ्यो सबैले उनको पछाडि जानुपथ्र्यो,’ उनी भन्छन्, ‘अहिले इन्चार्जको जिम्मेवारी लेखराजलाई दिएपछि रावल पनि आफूलाई संयोजक हुँ भनेर दाबी गरिरहेका छन्, जसले गर्दा उनी थप एक्लिए । भट्ट गृहजिल्लामै आएका बेला रावल पनि आएपछि नेता कार्यकर्ताबीचको मतभेद पनि प्रष्ट देखिएको छ ।’
भट्टलाई उनीसंगै एमालेमै रहेकासहित ओली पक्षीय नेता कार्यकर्ताको साथ देखिएको छ । तर रावलसंग उनीहरु कोही पनि छैनन् । उनीसंग केवल तत्कालीन माधव पक्षमा खुलेका तर नयाँ पार्टीमा नगई एमालेमै रहका नेता कार्यकर्ता मात्रै छन् ।
यसअघि सुदूरपश्चिममा माधव पक्ष बलियो थियो । रावल पनि सोही पक्षमा रहेका हुँदा त्यस बेला उनी शक्तिशाली नेताका रुपमा थिए । तर अहिले माधवलाई नेता मान्ने प्रायः धेरै नेता तथा कार्यकर्ता नेकपा (एस)मा गइरसकेका छन् ।
रावलका नजिकका विश्वास पात्रसमेतले उनलाई छोडेर नयाँ पार्टीमा लागेका छन् । अछाममा उनका विश्वास पात्र रहेका एमालेका तत्कालीन जिल्ला अध्यक्ष शेरबहादुर कुँवर र कैलालीका प्रभावशाली नेता दीर्घ सोडारी नयाँ पार्टीमा छन् ।
अहिले सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० जना सांसदमध्ये उनको साथमा जम्मा तीन जना मात्रै सांसद छन् । बाँकी सातले रावल सुदूरपश्चिम आउँदासम्म भेटघाटसमेत गरेनन् ।
मंगलबार धनगढीस्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यकर्ता भेलामा विगतमा ओली पक्षमा रहेका कोही पनि सांसद भेलामा सहभागी भएनन् । त्यहाँ विगतमा माधव पक्षमा रहेर अहिले एमालेमै रहेका सांसद प्रकाश शाह, कृष्णराज सुबेदी र अर्चना गहतराज मात्रै सहभागी भए ।
३१ भदौ २०७८, बिहीवार ११:५० बजे प्रकाशित













