अस्ताए जनगायक जेवी टुहुरे

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो ।

टुहुरे मंगलबार घरमा एक्कारी लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

२०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए ।

२०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य भएका थिए ।

जेबीले गाएको ‘आमा दिदी बहिनी हो, छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो, दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ गीत लोकप्रिय छ ।


१० भदौ २०७८, बिहीवार १३:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु