punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना महामारीमा केन्द्र र प्रदेश सरकारको सहयोग पाइएन : नगरप्रमुख चन्द

Chaupati
safha napa

अहिले देश कोरोना महामारीसंग लडिरहेको छ । दैनिक सक्रमित बढिरहेका छन् भने मृत्युदर पनि क्रमशः बढ्दो क्रममा छ । कमजोर स्वास्थ्य प्रणाली भएको देशमा कोरोनाको भयावह अवस्था आइसकेको छ । कोरोनाको रुप अझ उग्र हुन सक्छ । देशमा तीन तहका सरकार भएपनि सबैले आ–आफ्नो तहबाट राम्रो भूमिका निभाउन नसकेको आवाजहरु उठ्न थालेका छन् । स्थानीय तहले भने प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको आरोप लगाइरहेका छन् । यसैबीचमा हामीले ‘कोरोना महामारीमा स्थानीय सरकार’ अन्तर्गतको पाँचौं अंकमा बैतडी जिल्लाको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दसंग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

मेयर साब यहाँको नगरलाई संक्षिप्तमा कसरी चिनाउनु हुन्छ ?
पाटन नगरपालिका आफैमा परिचित छ । यो बैतडी जिल्लाको केन्द्रको रूपमा रहेको छ । यसको प्राकृतिक सौन्दर्यताका बारेमा मैले भनिरहनु पर्दैन । पाटन नगरपालिकाको जनसङ्ख्या २०६८ को जनगणना अनुसार ३० हजार ४३५ रहेको छ । २१९।२६ वर्ग किमी क्षेत्रफल रहेको यो नगरपालिका १० वटा वडामा विभाजित छ ।

 

कोरोना महामारीसँग जुध्न अहिले के गरिरहनुभएको छ ?
कोरोना महामारी नियन्त्रण रोकथामका लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ । पाटनमा १०० बेडको कोरोना उपचार हस्पिटल बनाउने निर्णय जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले गरेको थियो । यसको कार्यान्वयनका लागि प्रदेश सरकारबाट हामीलाई कुनै सहयोग भएन । अहिले कोरोनाको लहर भयानक छ । हाम्रै नगरपालिकामा पनि दुई÷तीन जनाको मृत्यु भैसकेको अवस्था छ । अक्सिजन जस्तो अत्यावश्यक सेवाको व्यवस्था केन्द्र सरकारले गर्नुपर्छ । भारतमा ठुलो समस्या छ नत्र हामी त्यहाँबाट ल्याउने प्रयत्न गर्दथ्यौँ । अक्सिजनको उपलब्धतालाई लिएर हामी चिन्तित छौँ ।

 

नगर भित्र स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ र अक्सिजन एम्बुलेन्सहरूको उपलब्धता कस्तो छ ?
हामीसँग प्राथमिक स्वास्थ्य केन्द्रहरू छन् । दुई/तीन वटा अक्सिजन सिलिन्डर मात्र छ । हामीसँग एउटा एम्बुलेन्स छ । त्यो पनि पुरानो छ । सामान्य रूपमा मान्छेहरू आए भने विद्यालयहरूमा राख्ने व्यवस्था मिलाएका छौँ । हामीले होम आइसोलेसनमा बस्नेलाई पनि सहयोग गर्छौँ । अहिले जनताले धेरै बुझेका छन् । सचेत छन् । त्यस्ता बिरामीका लागी २५÷३० बेडको हस्पिटलको व्यवस्था गरेका छौँ तर अक्सिजन भने छैन हामीसँग ।

 

भ्याक्सिन अहिले कोरोना नियन्त्रणका लागि प्रभावकारी देखिएको छ, यहाँको नगरमा कति व्यक्तिले कोरोनाको भ्याक्सिन लगाएका छन् ?
नगरपालिकामा धेरै कम व्यक्तिले भ्याक्सिन लगाएका छन् । त्यसलाई प्रतिशतमा भन्ने हो भने नगन्य मान्नुपर्छ । ६५ वर्ष माथिका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारी कर्मचारीले लगाएका छन् ।

 

आम जनतासँग भ्याक्सिन पुगेकै छैन । नगरबासीहरु सबैलाई भ्याक्सिन लगाउने व्यवस्थाका लागि के सोच बनाउनु भएको छ ?
हामीले पहल गरेर भ्याक्सिन लगाउन सक्दैनौ । त्यो केन्द्र र प्रदेशले नै गनुपर्छ । हामीले यसका लागि दवाव चाहिँ दिइरहेका छौं । म के भन्न चाहन्छु भने भ्याक्सिन लगाएको व्यक्ति कोरोना सङ्क्रमित भएपनि गम्भीर बिरामी परेको देखिएन । त्यसैले भ्याक्सिन जरुरी छ । भ्याक्सिनले काम गर्छ । नगरपालिका सङ्घको कुरा सुन्ने कुनै निकाय नै भएन । राजनीति गर्नेमा नैतिकता नै देखिएन । म के भन्छु भने हामीलाई बजेट नदिनुस् तर स्वास्थ्य क्षेत्रलाई चुस्त दुरुस्त बनाउनुहोस्, ताकी जनताले ज्यान गुमाउनु नपरोस् । एक वर्ष विकास निर्माण नभए केही फरक पर्दैन । तर भ्याक्सिन अगाडि बढ्नु पर्छ । सारा जनतालाई खोप लगाउने तर्फ केन्द्र सरकारको ध्यान जानु पर्छ भन्ने मेरो आग्रह हो ।

 

यहाँ नगरपालिका सङ्घ सुदूरपश्चिमको अध्यक्ष पनि हुनुहुन्छ । कोरोना महामारी नियन्त्रणमा साझा पहल केही गरिरहनु भएको छ ?
सामान्य भिडियो कन्फ्रेन्सद्वारा छलफल भएको छ । विभिन्न नगरपालिकासँग हामी सबैको समस्या एकै खालका छन् अहिले । सबै आफ्नै ढङ्गले लागि रहेका छौं ।

 

यो समय अधिकांश कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बसेका छन् । उनीहरूलाई सेवा कसरी पुर्‍याइरहनु भएको छ ?
होम आइसोलेसनमा बसेकालाई सेवा गर्नु हाम्रो धर्म हो । पहाडी क्षेत्रमा भन्ने बित्तिकै सेवा पुर्‍याउन गाह्रो छ । कहीबाट सहयोगका लागि सूचना आए नगरपालिका दत्तचित्त भएर लाग्छ ।

 

भारत तथा अन्य देशबाट आएकाहरू सिधै घर जाँदा सङ्क्रमण फैलने खतरा उच्च छ । उनीहरूको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
भारतबाट र बाहिरबाट आउनेलाई केही समय अलग्गै बस्नुपर्छ भनेर भन्दै आएका छौं । यदि घरमा बस्ने ठाउँ छैन भने हामी तपाईँलाई अलग व्यवस्था गरिदिन्छौं भन्दै आएका छौं । हामीले जनताको आवश्यकता अनुसार वार्ड नं. ७, ४ र १ मा यसको व्यवस्था गरेका छौं ।

 

लकडाउन धेरै लामो समयसम्म लम्बियो भने दैनिक ज्यालादारी गर्ने र निम्न आयस्रोत भएका वर्गहरू प्रभावित हुन्छन् । उनीहरूका लागि के सोच्नुभएको छ ?
हामी यसका बारेमा सोचिरहेका छौं । केन्द्र सरकारलाई पनि भनेका छौं । लकडाउन लम्बिए अवश्य हामी केही व्यवस्था गर्छौं ।

 

महामारीको समयमा गलत सूचनाका कारण पनि मानिसहरूमा त्रास फैलन्छ । नगरबासीहरु गलत सूचनाको सिकार नहुन भन्नका लागि के गरिरहनु भएको छ ?
हामी रोकथाममै लागि रहेका छौं । व्यापक प्रसार प्रचार पनि गरिरहेका छौ जनचेतनाका लागि । सङ्क्रमण फैलन नदिन सबैको सहयोगका लागि अनुरोध गरिरहेका छौं । हामीले आवश्यक छलफल गरिरहेका छौं । चेतना सबैमा आइसकेको छ । यहाँ सूचनाको कमी भन्दा पनि लापरबाही छ जस्तो मलाई लाग्छ । हामी जिम्मेवारी महसुस गराउने प्रयत्नमा छौं ।

 

पालिकाको मुख्य चुनौती के हो ?
अहिले तीन तहका सरकार छन् । कार्यान्वयन गर्ने स्थानीय तहको ठुलो भूमिका छ । तर आवाज यतिका वर्ष बितिसक्दा पनि अफिस व्यवस्थापन गर्न सकिएको छैन । प्रशासकीय अधिकृत सेकेन्ड क्लासको पाउनुपर्ने अहिलेसम्म पाएका छैनौँ । कुन पालिकामा आफ्नो मान्छे राख्ने भन्ने सोच मात्र छ हाम्रो केन्द्रीय नेताहरूमा । यसरी नगरप्रमुखले मात्र कसरी काम गर्न सक्छ । यो समस्या हाम्रो मात्र होइन धेरै नगरपालिको छ । प्रशासनिक संयन्त्र ठिक भएन भने परिणाम पनि राम्रो आउँदैन । एउटा लेखापालले मालपोत, हुलाक र नगरपालिका गरी तीन वटा कार्यालयको काम हेर्नुपर्ने बाध्यता छ । यो नै हाम्रो सबभन्दा ठुलो चुनौती हो । यसका बाबजुद पनि हामी महामारीको सामना गरिरहेका छौं । केन्द्र जस्तो सुनेर बस्न सक्दैनौँ । हामी २४ घण्टै सक्रिय रहनुपर्छ । सक्रिय पनि रहेका छौं ।

 

अन्त्यमा नगरबासीलाई केही भन्न चाहनुहुन्छ ?
अहिलेको अवस्था जटिल छ । आफ्नो परिवार आफू बाँच्नका लागि समाज बचाउनका लागि भएपनि आफ्ना इच्छा रहर मारेर भएपनि घर भित्र बस्न पर्छ । भिडभाड नगर्ने, यो घुम्ने रमाइलो गर्ने समय होइन सबैले संयमित हुनैपर्छ ।


३० वैशाख २०७८, बिहीवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु