संसद विघटनपछि भारत जाँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमणमा जाने भएका छन् ।
संसद विघटनपछि चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनले भारत भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जाने कार्यक्रम छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ ।
भारत भ्रमणका क्रममा महत्वपूर्ण निर्णय दुई देशबीच हुन सक्ने आँकलन गरिएको छ । अर्कोतर्फ ओलीले मुलुकको हितभन्दा पनि सत्ता टिकाउन भारतसँग सम्झौता गर्न सक्ने भन्दै विभिन्न दलका नेताहरु सशंकित पनि भएका छन् ।
१० पुस २०७७, शुक्रवार ०९:१४ बजे प्रकाशित













