जो बालक ९ वर्षकै उमेरमा अर्बपति बने, यस वर्ष मात्रै कमाए २७ अर्ब
एक बालक ९ वर्षकै उमेरमा अर्बपति बन्यो भनेको सुन्दा जोसुकैलाई पनि अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । जसले पछिल्लो एक वर्षमा मात्रै २७ अर्ब रुपैयाँ कमाई गरेका छन् ।
अमेरिकाको टेक्सासका रेयान काजी नामका ९ वर्षका बालकले डिजिटल प्लेटफर्म युट्युबकै माध्यमबाट यति धेरै पैसा कमाएका हुन् । उनले यसबाट मात्रै २९.५ मिलियन डलर कमाइ गरेका छन् । उनी २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।
उनले युट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडियो राख्छन् । भिडियोमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् । उनले २०२० मा युट्युबबाट २९.५ मिलियन डलर कमाएका छन् । यसका अलावा उनले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङबाट पनि उनले २०० मिलियन डलर कमाएका छन् ।
रेयानले हालै निकलोडिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौता गरेका छन् । काजीको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ । यो भिडियो युट्युबको इतिहासमा सबैभन्दा धेरै हेरिएका ६० भिडियोमध्ये एक हो ।
रेयानले २०१५ मा भिडियो बनाउन सुरु गरेका थिए । उनी २०१८ र २०१९ मा पनि युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका थिए । रेयानको लोकप्रियताका कारण कैयौं चर्चित खेलौना कम्पनी आफ्नो खेलौनाको रिभ्यू गराउन उनीकहाँ आउँछन् ।
२०२० मा युट्युबबाट धेरै कमाउनेको सूचीमा दोस्रो स्थानमा जिमी डोनाल्डसन छन् । किस्टर बिस्ट भनेर चिनिने डोनाल्डसनले २०२० मा युट्युबबाट करिब २४ मिलियन डलर कमाएका छन् ।
८ पुस २०७७, बुधवार १४:४६ बजे प्रकाशित































