एकैसाथ सातवटा मोटरसाइकलसहित चोर गिरोह पक्राउ
गत मंसिर २९ गते मालपोत कार्यालय कैलाली अगाडि रोडमा पार्किङ गरेर राखिएको से ३ प ३७४ नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको खबर दिउँसो पौने १ बजे कैलाली प्रहरीसम्म पुग्यो । खबर प्राप्त हुनासाथ खोजतलास गर्दै जाँदा प्रहरीले सोही दिन दिउँसो साढे ४ बजे पहलमानपुरबाट मोटरसाइकलसहित घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीका अर्जुन विष्टलाई पक्राउ गर्यो ।
प्रहरीले उनलाई मोटरसाइकल चलाइरहेकै अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले यो घटनालाई यतिमै सीमित राखेन । त्यसपछि पनि प्रहरीले बढ्दो मोटरसाइकल चोरीको घटनालाई अनुसन्धान गर्ने उद्देश्यलाई उनलाई केरकार गर्न सुरु गर्यो । उनीमाथि अनुसन्धान थाल्यो । प्रहरीले अनुसन्धान गर्दैजाँदा उनीसंगै चोरीमा संलग्न हुने अन्य छ जनालाई पनि पक्राउ गरेको छ । जो लामो समयदेखि कैलालीमा मोटरसाइकल चोरीमा संलग्न गिरोह रहेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
चोर गिरोह मात्रै नभई हालसम्म अनुसन्धानको क्रममा खुल्न आएका सातवटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए । उनकाअनुसार पक्राउ पर्ने व्यक्तिहरुमा घोडाघोडी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय अर्जुन बिष्ट, सोही नगरपालिकाको वडा नम्बर १० स्थित जी.पी. अटोपार्टस सञ्चालक २२ वर्षीय पारस बिष्ट, सोही ठाउँमा २० वर्षीय यमराज बिक, वडा नम्बर ११ का २२ वर्षीय राजेश चौधरी, सोही ठाउँका ३० वर्षीय बिदुर लामिछाने र वडा नम्बर १ का २० वर्षीय विकास सुवेदी हुन् ।
उनीहरुको साथबाट प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का विनय बानियाको से ३ प ३७४ नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकल, जानकी गाउँपालिकाका–९ का एकिन्द्र शाहको से ४ प ६४१२ नम्बरको होण्डा टाइगर, धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का नगेन्द्र चौधरीको से ४ प ८८९८ नम्बरको यामाहा कम्पनीको एफ.जेड.एस, कञ्चनपुरको महाकाली नगरपालिका (हाल दोधारा चाँदनी नगरपालिका) वडा नम्बर ९ का विनोद खड्काको सुपप्र ०२००३ प २५८२ नम्बरको सुपर स्पेलेण्डर, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का लालबहादुर शाहीको म १ प ६४३२ नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकल फेला पारेका छ ।
यस्तै, हालसम्म सवारी धनी नखुलेको MD2A37CZXDWB15747 चेसिस नम्बर भएको र GEZWDBO8195 इन्जिन नम्बर भएको सुपर स्पेलेण्डर मोटर साइकल र बजाज डिस्कभर MBLHA10EJ99mo3899 चेसिस नम्बर भएको र HA10EA99Mo3899 इन्जिन नम्बर भएको मोटरसाइकल पनि बरामद गरिएको छ । प्रहरीले यो इन्जिन नम्बर र चेसिस नम्बर भएको सवारी धनीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
गिरोहले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर र कुनैमा नम्बर नै नराखेर चलाउने गरेको पाइएको प्रहरी प्रवक्ता बिष्टले बताए । प्रहरीले सवारी धनीको जाहेरीका आधारमा पक्राउ परेको छ जनाविरुद्ध मोटरसाइकल चोरुी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।
४ पुस २०७७, शनिवार २१:२६ बजे प्रकाशित













