माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मृत्यु
माछा मार्ने विषयमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । झडपमा अन्य चार जना घाइते भएका छन् ।
जिल्लाको बोदे बर्साइन नगरपालिका–३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप हुँदा रामपृत मण्डलकी ३५ बर्षीया श्रीमती गंगीयादेवीको मृत्यु भएको हो । प्रहरी प्रवक्ता भुवनेश्वर साहकाअनुसार लाठी, बाँसको भाटाले प्रहार गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
झडपमा ५५ वर्षीय जयनारायण मण्डल, ३५ वर्षीय सोबिन्द्र मण्डल, १८ वर्षीय धिरज मण्डल र ४५ वर्षीय जोगिन्द्र मण्डलको घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । उनीहरुको सिराहाको लहानमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेका अर्को पक्षका ५० वर्षीय शिवसरन मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रवित मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२९ मंसिर २०७७, सोमवार १३:२७ बजे प्रकाशित































