भारतीय विदेशसचिव आज नेपाल आउँदै, के हुन्छ सीमा विवादको विषय ?
भारतीय विदेशसचिव हर्षवर्धन शृंगला आज नेपाल आउँददै छन् । नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुन उनी आज नेपाल आउन लागेका हुन्।
नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतका तर्फबाट विदेशसचिव शृंगलाले बैठकमा नेतृत्व गर्दै छन्। बैठकमा विशेष गरेर नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल हुनेछ। सीमापार अपराध, आतंकवादलगायत सुरक्षासँग जोडिएका विषयवस्तु बैठकका एजेन्डा बनेका छन्। बैठकमा हवाई तथा रेल सञ्जाललगायत आर्थिक सहायताका विषयमा पनि छलफल हुनेछ।
यो बैठक नेपाल र भारतबीच तत्काल देखिएका समस्याबारे छलफलभन्दा पनि नियमित र औपचारिक विषयवस्तुमा केन्द्रित हुने देखिएको छ।
एजेन्डामा नभए पनि नेपालले कुनै न कुनै रूपमा भारतीय विदेशसचिवसँग कालापानी क्षेत्रमा देखिएको सीमा विवादबारे कुरा राख्ने तयारी गरेको छ। परराष्ट्रसचिव पौडेलले शृंगलासँगको एकान्त ९वान टु वान० बैठकमा सीमा विवादका कारण देखिएको समस्याबारे छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्रविदहरूले भने बैठकमा नेपालले सीमा विवाद र ईपीजी प्रतिवेदनबारे गम्भीर रूपमा कुरा उठाउनुपर्नेमा जोड दिएका छन्।
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गरेपछि दुई मुलुकबीचको सम्बन्ध सुमधुर छैन। सचिवस्तरीय बैठकमा सीमा विवादको मुद्दा नउठाउने पक्षमा भारत देखिएको छ।
भ्रमणका क्रममा शृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीले उक्त भेटमा सीमा विवाद समाधानका विषयमा कुरा राख्ने बताइएको छ।
११ मंसिर २०७७, बिहीवार ०८:४९ बजे प्रकाशित































