अस्ताए महान् फुटबलर म्याराडोना

महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई हृदयाघात भएको जनाइएको छ।

उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए। म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले उक्त विश्वकप जितेको थियो।

अर्जेन्टिनी फुटबल संघले बुधबार विज्ञप्ति जारी गरी म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका म्याराडोना विश्व फुटबलका महान् खेलाडी हुन्। उनले अर्जेन्टिनालाई सन् १९९० को विश्वकपको फाइनलमा पनि पुर्‍याएका थिए। त्यसबेला अर्जेन्टिना फाइनलमा पश्चिम जर्मनीसँग पराजित भएको थियो।

सन् १९९४ को विश्वकपमा पनि उनी अर्जेन्टिनी टोलीमा थिए। तर, डोपिङ ९प्रतिबन्धित औषधि सेवन परीक्षण०मा असफल भएपछि उनलाई घर फर्काइएको थियो। त्यसपछि उनी लागुऔषधको कुलतमा फसेका थिए। त्यसअघि सन् १९९१ मा लागुऔषध सेवन गरेको अभियोगमा उनी डेढ वर्ष प्रतिबन्धमा परेका थिए।

अर्जेन्टिनाका लागि म्याराडोनाले सन् १९७७ देखि सन् १९९४ सम्म खेलेका थिए। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। सन् २००८ देखि सन् २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक थिए।

म्यारोडोनाले चर्चित स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब नापोली, स्पेनिस क्लब सेभिलजस्ता प्रतिष्ठित युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। अर्जेन्टिनोस जुनियर्सबाट व्यावसायिक फुटबल सुरुआत गरेका उनले सन् १९८१ देखि सन् १९८२ सम्म बोका जुनियर्सबाट ब्यवसायीक फुटबल खेलेका थिए।

त्यसपछि उनी बार्सिलोनामा आवद्ध भएका थिए। उनले सन् १९८२ देखि सन् १९८४ सम्म बार्सिलोनाका लागि ३६ खेल खेल्दै २२ गोल गरेका थिए। यसैगरी सन् १९८४ देखि सन् १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले फुटबल खेलेका थिए। नापोलीका लागि एक सय ८८ खेलमा ८१ गोल गरेका थिए।

नापोलीबाट स्पेनिस क्लब सेभिल पुगेका उनले त्यहाँ एक सिजन बिताएका थिए। सेभिलमा उनले २६ खेलमा पाँच गोल गरेका थिए। उनले क्लब फुटबलको अन्त्य सन् १९९७ मा बोका जुनियर्सबाट गरेका थिए। त्यतिबेला उनी केवल ३७ वर्ष पुगेका थिए।

विश्व फुटबलमा म्याराडोना र ब्राजिलियन फुटबल हस्ती पेलेमध्ये को महान भन्ने भनेर विवाद हुँदै आएको छ। उनै ब्राजिलियन फुटबल लिजेन्ड पेलेले पनि म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।


११ मंसिर २०७७, बिहीवार ०९:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु