भारतको दुधुवा नेशनल पार्कमा नेपाली नागरिकको शव फेला, हत्याको आशंका
कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको शव फेला परेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ उदरीका ३५ वर्षीय शिवलाल रानाको शव फेला परेको हो । उनको छातीमा चोट लागेको देखिएको छ । शरीरमा चोट देखिएकाले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनी बुधबार घरबाट निस्केको उनका आफन्तले बताएका छन् ।
आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन । घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।
४ मंसिर २०७७, बिहीवार १६:४५ बजे प्रकाशित































