आयोजनाको काम नसकिँदा स्थानीय समस्यामा

समयमै खानेपानी आयोजनाका काम नसकिँदा रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका क्षेत्रका स्थानीय समस्यामा परेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका–१४ र सानीभेरी गाउँपालिका–१० मा रहेको ग्रामीण सौर्य खानेपानी आयोजनाले पूर्णता नपाउँदा स्थानीय उपभोक्तालाई समस्या भएको हो ।

आर्थिक वर्ष ०७१-७२ मा चौरजहारी–१४ मा लुगाधुनेखोला ग्रामीण सौर्य खानेपानी आयोजनाको निर्माण थालिएको थियो । तर आयोजना समयमै निर्माण नहुँदा आपूmहरूलाई समस्या भएको स्थानीय रमित ओली बताउँछन् ।

पुरानो समितिले काम नगर्दा र नयाँ समितिले मान्यता नपाउँदा आयोजनाको काम रोकिएको स्थानीयको भनाइ छ । करिब एक करोड खर्च लागेको आयोजना हाल लथालिंग अवस्थामा छ ।

आयोजनाको पाइपलाइन विस्तारसँगै विभिन्न ५ ठाउँमा ट्यांकी निर्माण तथा मिटर जडानको काममात्रै सकिएको छ । उपभोक्ता समिति गठनको माग गर्दा सुनुवाइ नभएको स्थानीयको भनाइ छ । बलियो उपभोक्ता समिति नहुँदा आयोजना अलपत्र परेको उनीहरूको भनाइ छ ।

चौरजहारी–१४ र १३ का करिब १ सय र सानीभेरी १० का ५० घरधुरीमा पानी पु¥याउने लक्ष्यसहित सुरु भएको आयोजना अलपत्र परेको छ । करिब आधा करोड बजेट खर्च भइसकेको आयोजनाले पूर्णता पाउन अहिले समस्या भएको छ ।

निर्माण समितिका सचिवसमेत रहेका चौरजहारी नगरपालिका–१४ का वडाध्यक्ष अतिराम विष्टले अहिले आर्थिक अभावका कारण आयोजनालाई पूर्णता दिन नसकिएको बताए । घरघरमा पानी आउला र दैनिकी चलाउन सहज होला भन्ने आशामा रहेका नागरिक जिम्मेवार निकायको बेवास्ताका कारण आजित भएका छन् ।

 


२० कात्तिक २०७७, बिहीवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु