अमेरिका र भारतका सेनाबीच ‘बेका’ सम्झौता, चीन र पाकिस्तानलाई झट्का
अमेरिका र भारतका सेनाबीच बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रीमेन्ट अर्थात बेका सम्झौता भएको छ ।
तेश्रो प्लस टु प्लस मन्त्रीस्तरीय बैठकमा यो सम्झौता भएको हो ।
सम्झौतापछि दुई देशका सेनाबीच गोप्य सूचना आदानप्रदानसंगै उच्चस्तरीय सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ ।
सम्झौतामा रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट हस्ताक्षर गरे । बैठकमा भारतका तर्फबाट बिदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहको उपस्थिती रह्यो भने अमेरिकाको तर्फबाट अमेरिकी बिदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर सहभागी थिए ।
यी बाहेक बैठकमा दुबै देशका शार्ष सैन्य र सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । बैठकमा दुबै देशबीच हिन्द र प्रशान्त महासागरीय क्षेत्रको सुरक्षा, सामरिक र रणनितीक सहयोगका बारेमा पनि छलफल भएको भारतीय अधिकारीहरुको भनाई छ ।
सम्झौता लगत्तै प्रतिक्रिया दिंदै अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले चीनलाई कम्युनिष्ट पार्टी लोकतन्त्र, कानुनी नियम, एक अर्काबीचको स्पष्टता र पारवहन स्वतन्त्रताका लागि मित्रता गाँस्न नसक्ने देशको रुपमा परिभाषित गरे ।
यसैगरी अमेरिकी रक्षामन्त्री माइक एस्परले दुई देशबीचको यो सम्झौता एकअर्काको मुल्य र मान्यतामा आधारित भएको भन्दै अमेरिका र भारतबीच रक्षाको क्षेत्रमा क्षेत्रिय सहयोग बलियो बनेको भन्दै आगामी दिनमा काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिक्रिया दिए।
यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले बेका सम्झौता एक महत्वपुर्ण सम्झौता भएको जनाउँदै अमेरिकासंग आफनो देशको सैन्य सहयोगले थप गति लिने धारणा ब्यक्त गरे।
यसैबीचअमेरिका र भारतबीचको यो सम्झौता लगत्तै पाकिस्तानले बिरोध जनाएको छ । पाकिस्तानी बिदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै भारतको मिसाइल र सैन्य परिक्षणमाथि प्रश्न उठाएको छ ।
बिज्ञप्तीमा पाकिस्तानले भारतले युद्धक सामग्रीहरु जुटाउनु, परमाणु शक्ति परिमार्जन गर्नु, हतियार प्रणाली बिकसित गर्नु दक्षिण एशियाका लागि खतरा भएको भन्दै अमेरिकाको ध्यानाकर्षण गराएको छ ।
पाकिस्तानको टिप्पणीप्रति भने भारतले कुनै जवाफ दिएको छैन । (एजेन्सी)
१२ कात्तिक २०७७, बुधवार ०८:५२ बजे प्रकाशित































