तस्करी रोक्न कडाई गर्दै थिए असई गोविन्द बिक, बदलामा ड्युटीमै मारिए
धनगढी उपमहागनरपालिका वडा नम्बर १२ स्थित अस्थाई प्रहरी पोष्ट जुगेडामा हाँजिर भएको तीन महिना मात्रै पुगेको थियो प्रहरी सहायक निरीक्षक गोविन्द बिकलाई । तीन महिनाको अवधिमा उनले स्थानीयमा आफ्नो छाप छोडिसकेका थिए । जनताको मन जितिसकेका थिए ।
स्थानीयकाअनुसार उनले छोटो अवधिमा सबैभन्दा राम्रो काम पनि गरेका थिए । यसअघि पनि उनले सीमा नाकाबाटै चोरी तस्करीका व्यापारिक सामानहरु समातेर ल्याएका थिए ।
यसैबीच दशैं आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले चाडपर्व लक्षित सुरक्षा योजना ल्यायो । सोही योजनाअनुसार दशैंमा सुरक्षा व्यवस्थालाई थप कडाई पार्नु थियो उनलाई । सुरक्षा रणनीतिअनुसार असई बिकले सुरक्षा व्यवस्था चुस्त पार्दै चोरी तस्करी रोक्न सीमामा गस्ती बढाए । सँधैको चोरी तस्करी हुने सीमा नाकामा दशैंमा झन बढी अबैध गतिविधि हुने गरेको स्थानीय बताउँछन् ।
चोरी तस्करी रोक्नकै लागि शनिबार राति ८ बजे असई बिक आफै प्रहरी जवान रामबहादुर साउँदसहित सीमामा खटिए । सो क्षेत्र वडा नम्बर १० मा पर्छ, जहाँ मोहना नदीले दुई देशबीचको सीमा छुट्याएको छ । सीमा क्षेत्रमा खटिएको तीन घण्टासम्म उनी सम्पर्कमै थिए । उनी राति १० बजेसम्म सम्पर्कमै रहेको विषय पनि गाउँमा भएको एक युवाहरुको समूहबीचको झडपले थाहा हुनपुग्यो । प्रहरी पोष्ट नजिक युवाहरुबीच झडप हुँदा कार्यालयमा रहेका प्रहरी हवल्दार त्यहाँ पुगे । त्यही क्रममा उनले झडपबारे असई बिकलाई फोन गरेर जानकारी गरेका थिए ।
यो क्रियाकलाप स्थानीय नेता समेत रहेका चन्द्रबहादुर बिले पनि हेरिरहेका थिए । ‘राति १० बजेसम्म मेरै आँखा अगाडि हवल्दारसापले असई सापलाई फोन गरेर के गरौं भनेर सोधेका थिए,’ उनले भने, ‘मैल हवल्दारसापलाई म सम्झाईहाल्छु, सामान्य विषयको विवाद हो भनेपनि उहाँहरु फर्किनुभयो, असई सापले पनि छोडिदेउन त भन्नुभएछ ।’ असईसाप सीमा क्षेत्रमा जानुभएको छ भन्नेबारे आफूले पनि त्यहीबेला मात्रै थाहा पाएको उनले बताए ।
राति १० बजेसम्म सम्पर्कमा रहेका असई त्यसपछि सम्पर्कमा रहेनन् । प्रहरी पोष्टमा नफर्किएपछि अस्थाई पोष्टबाट जिल्ला प्रहरीमा खबर भयो । जिल्ला प्रहरीबाट प्रहरी टोली खटियो । खोजतलासकै क्रममा विहान ५ बजे मात्रै नदीमा पानीमा घोप्टो परेको अवस्थामा शव देखियो । तर, कसको शव हो भन्ने यकिन भएन, किन कि प्रहरीले शव उठाउनु अघि गर्नुपर्ने कार्य गर्न बाँकी थियो ।
प्रहरीले बिहान ११ बजेपछि मात्रै पानी भित्र घोप्टो परेको शव उठाएपछि मात्रै उक्त शव असई बिकको हो भन्ने यकिन भयो । त्यसअघि आशंका मात्रै गरिएको थियो । घटनाको प्रकृति हेर्दा शव फेला परेको ठाउँ भन्दा झण्डै एक सय मिटर माथि उनलाई नदीमा फालिएको जस्तो देखिन्छ । त्यहाँ नजिकै नदी किनारमा रगतका छिटा देखिएको छ । असई विकको शव भेटिएपनि प्रहरी जवान साउँदको अवस्था अझै पत्ता लागेको छैन । अछामको बान्नीगढी(जैगड गाउँपालिकामा स्थायी घर भएका उनको अझै खोजी भइरहेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा खानतलास गर्दा असई विकको शव भेटिएको एक सय मिटर माथि साउँदले बोक्ने मोबाइल भेटाएको छ, तर उनको अवस्था पत्ता लागेकोे छैन । प्रहरी र स्थानीयले उनको खोजी कार्य जारी राखेका छन् ।
असई विकसहितले प्रयोग गरेको मोटरसाइकल बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल मोहना नदी भन्दा पाँच सय मिटर परै रोकिएको अवस्थामा भेटिएको छ । मोटरसाइकल भन्दा केही परबाट प्रहरीमाथि आक्रमण भएको त्यहाँको प्रकृति हेर्दा स्पष्ट हुन्छ । नदीबाट अढाई सय मिटर वरै एक जोर चप्पल पनि देखिएको छ भने त्यहाँबाट अगाडि बढ्दै जाँदा प्रहरीको एक बुट पनि फेला परेको छ । उक्त बुट प्रहरी जवान साउँदको हुनसक्ने बुझिएको छ । किनभने प्रहरीका अनुसार असईको बुट भने खुट्टामै थियो ।
त्यस्तै मोहना नजिकै मोबाइल पनि भेटिएको छ भने नजिकै अर्को ठाउँमा रगत देखिएको छ । त्यहाँको अवस्था हेर्दा असई विकलाई नदी भन्दा वरै मारेर नदीमा फालिएको हुन सक्ने स्थानीय बताउँछन् । एक प्रहरीकाअनुसार त्यहाँ भेटिएको मोबाइल पनि प्रहरीको होइन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले घटनाको प्रकृति हेर्दा हत्या नै गरिएको बताए । उनले घटनाबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको र अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमासमेत लिइएको जानकारी दिए ।
उनकाअनुसार घटनास्थलबाट एक थान हतियार र एक थान म्यागेजिन फेला परेको छ । तर, अर्को एक थान हतियार, बुलेट र म्यागेजिन फेला नपरेको डीएसपी विष्टले जानकारी दिए । उनले असई विष्टको घाँटी रेटिएको र टाउकोमा हिर्काइएको देखिएको बताए । प्रहरीले अपराध अनुसन्धानका लागि ‘ट्र्याकर डग’ पनि परिचालन गरेको छ ।
३ कात्तिक २०७७, सोमवार ०९:२२ बजे प्रकाशित












