punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कारपछि अछामकी १२ वर्षीया बालिकाको ८ महिनाको गर्भ, आरोपी फरार

Chaupati
safha napa

धनगढी। अछामको चौरपाटी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ। पेटमा ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था जटिल बन्दै गएको हो।

भारतको गुजरातमा मामा नाता पर्ने पुरुषबाटै बलात्कारको सिकार भएकी बालिका अहिले गम्भीर स्वास्थ्य जटिलताको सामना गरिरहेकी छिन्। उनलाई धनगढीको एक सेभ हाउसमा राखिएको छ। घटना सार्वजनिक भएको एक महिनाभन्दा बढी हुँदा पनि आरोपित फरारै अवस्थामा छन् भने किशोरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। परिवारका सदस्य न्यायका लागि भौँतारिरहेका छन्।

अछामको ग्रामीण भेगकी ती बालिका रोजगारी गर्न भारत पसेका आमा बुवासँगै गएकी थिइन्। तर, उनी त्यहीँ मामा नाता पर्ने पुरुषबाटै बलात्कृत भइन्। उनीमाथि त्यहाँ धम्की दिएर पटक–पटक बलात्कार भएको बालिका नै बताउँछिन्। आफूमाथि पटक–पटक बलात्कार हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न सकेकी थिइनन्। त्यस लगत्तै बालिकाका आमा–बुवा घर फर्किएका थिए। घरमा ती बालिकाको अस्वाभाविक रूपमा पेट बढ्न थाल्यो।

सुरुमा परिवारका सदस्यले भारतबाट फर्किएका कारण स्वास्थ्यमा परिवर्तन आएको हुनसक्छ भन्दै खासै चासो राखेनन्। पछि झनझन पेट र शरीरको बनावट परिवर्तन हुन थालेपछि परिवारका सदस्यले उनको स्वास्थ्य जाँचका लागि बयालपाटा अस्पतालमा लगे।

पिसाब जाँच गरेपछि ती बालिकाको पेटमामा २५ हप्ताभन्दा बढी समयको गर्भ रहेको रिपोर्ट अस्पतालले आफन्तलाई दिएको थियो। त्यसपछि बयालपाटा अस्पतालले बालिकालाई जिल्ला अस्पताल अछाम रेफर गरेको हो। उनको गर्भ रहेको समय धेरै भइसकेको भन्दै थप उपचारका लागि जिल्ला अस्पतालले पनि धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको थियो। सेती अस्पतालले पनि गर्भपतन गर्न सिल्दैन भनेपछि आफन्तहरू समस्या परेका थिए। अहिले बच्चा जन्माउने समय पुगेका कारण गर्भवती बालिकाको स्वास्थ्य अवस्थामा जटिलता रहेको छ। हाल ती बालिकालाई सेभ हाउसमा राखिएको छ।

यता बालिकाका परिवार न्याय खोजीरहेका छन्। आफूहरूले जिल्ला प्रहरी कार्यालय अछाममा जबरजस्ती करणी मुद्‍दा दर्ता गराए पनि अहिलेसम्म आरोपित पक्राउ पर्न नसकेको पीडित बालिकाका एक जना आफन्तले गुनासो गरे। उनले भने, ‘हामी जस्तो गरिबहरूले न्याय नपाउने देखियो। बालिकाको अवस्था झनझन बिग्रिदो अवस्थामा छ। बालिकाको ज्यान बचाउन पनि गाह्रो देखियो। प्रहरीले आरोपितलाई पक्राउ गर्न धेरै चासो नदिएको हामीलाई अनुभव भएको छ। इन्टरपोलमार्फत भए पनि आरोपित पुरुषलाई समात्नु प¥यो। हामीलाई न्याय चाहियो।’

यता प्रहरीले भने मुद्‍दा दर्ता भएको डेढ महिनासम्म पनि आरोपित बारे कुनै जानकारी पाएको छैन। प्रहरीले बालिकाका आफन्तलाई र नजिकका मान्छेहरूलाई भारतको कुन ठाउँमा आरोपित रहेको छ त्यसबारे जानकारी भए दिनु भनिरहेको छ।

साथै जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता जय पार्कीले इन्टरपोलमार्फत रेड नोटिस जारी गर्नु भन्दै पत्र पठाइएको बताए। तर, अहिलेसम्म रेड नोटिस बारे जानकारी आएको छैन। आरोपितलाई पक्राउ गर्न प्रयास गरिरहेको अछाम प्रहरीको दाबी छ।


५ चैत २०८१, मंगलवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु