कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, ६ घाइते
धनगढी, असार १२ । कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीयाका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो ।
बिहान करिब ७ः३० बजेको समयमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।
यसैगरि धगनढी उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँमा घर नजिकै खेतमा काम गरिरहेका बेला चट्याङ लागेर २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै जिल्लाको भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका छन् । विद्यालय जानेक्रममा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका हुन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।
गम्भीर घाइते बालिकाहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।
यसैगरि जानकी गाउँपालिका वडा नम्बर ४ बेलपुरकी २९ वर्षीया रिता कठरिया र ३३ वर्षीया सुस्मा डगौरा पनि चट्याङ लागेर घाइते भएका छन् । उनीहरु सबैको उपचार भइरहेको छ ।
१२ असार २०८१, बुधवार ११:४४ बजे प्रकाशित































