एमालेको सुदूरपश्चिम अधिवेशनको सरगर्मी सुरु, भिम-कर्ण र, लेखराज-दामोदरका अलग उमेदवार
नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनको तयारी थालिएको छ । भदौ १ गते जारी एमालेको अन्तरपार्टी निर्देशन अनुसार असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेश अधिवेशन हुने भएको छ । सबै प्रदेशको अधिवेशन कार्यतालिका नै सार्वजनिक गरिएपछि सुदूरपश्चिम प्रदेशमा पनि अगाडी बढाइएको छ । नेकपा एमालेका नेताहरू प्रदेशको नेतृत्वको लागि पनि चिया गफदेखि सामूहिक छलफलमा केन्द्रित हुन थालेका छन् ।यहाँ मुख्यतः २ समूहकाबीच प्रतिस्पर्धा हुने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र ओली इतरका समूहबीच प्रतिस्पर्धा हुने देखिएको हो
ओलीबाट रुष्ट देखिएको पार्टीको स्थायी कमिटी सदस्य कर्ण थापा, नेता भीम रावल, निरु पाललगायतले अलग्गै टिम निर्माणमा जुटेको एमाले निकट स्रोत बताउँछ । थापा–रावल टिमबाट एमाले प्रदेश सचिवालय सदस्य कृष्ण प्रसाद जैशी (अछाम) को नाम चर्चामा रहेको छ । जैशीले गृहकार्य पनि थालेको बताइएको छ । त्यस्तै, पार्टीका केन्द्रीय सदस्य लालबहादुर थापा (बाजुरा) को नाम पनि चर्चामा रहेको छ । संविधान सभा सदस्य समेत भइसकेका उनलाई नेता कर्ण थापालाई काउन्टर दिनलाई पनि उम्मेदवारको लागि केपी ओली समूहले लविंग थालेको एमाले स्रोत बताउँछ ।
केपी ओली निकट मानिने नेताहरू दमोदर भण्डारी र लेखराज भट्टलगायतको समूहले जसको लागि गृहकार्यमा जुटेको छ । तर भण्डारी–भट्ट समूहले उम्मेदवारको ग्रिन सिग्नल भने हालसम्म पाइ नसकेको बताइएको छ । अधिवेशनको समय अझै धेरै भएकाले पनि स्पष्ट सम्भावित अनुहार नदेखिएको बताइएको छ । प्रदेश सभा सदस्य समेत रहेका एमाले प्रदेश सचिव धर्मराज पाठकले अधिवेशनको समय धेरै भएकाले पनि उम्मेदवारको लागि इच्छा जाहेर गर्नेहरू धेरै पनि हालसम्म थापा र जैशी मात्रै देखिएको जानकारी दिए ।
जनप्रतिनिधिहरू उम्मेदवार बन्न नपाउने प्रदेश समितिको पदाधिकारीमा स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र सङ्घीय सांसदहरूलाई भने उम्मेदवारीमा बन्देज लगाइएको छ । खासगरी प्रदेश समितिको अध्यक्ष र सचिव पदको लागि उम्मेदवार बन्न नपाउने भएका हुन् । रातोपाटीबाट
१२ भदौ २०८०, मंगलवार १४:०८ बजे प्रकाशित































