punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तिम समयमा दुई पूर्वप्रधानमन्त्रीसँग पनि सीआईबीको बयान, आजै प्रतिवेदन बुझाउने तयारी

Chaupati
safha napa

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । सीआईबीले यो प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग समेत बयान लिएसँगै अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।

सीआईबीले आइतबार नै आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी तयारी गरे पनि अन्तिम समयमा भट्टराई र नेपालसँग समेत बयान लिएको हो । यससँगै अनुसन्धान पूर्ण बनेको सीआईबीका अधिकारीहरुको भनाइ छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले सम्भवतः आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताए । हिजै प्रतिवेदन बुझाउने भनिएपनि प्राविधिक कारणले सम्भव नभएको उनको भनाइ थियो ।
सीआईबीले नेपाल र भट्टराईसँगसमेत बयान लिने योजनाअनुसार आइतबार प्रतिवेदन नबुझाएको बताइएको छ । सोहीअनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान भएको हो । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्य दुई प्रधानमन्त्रीसँग बयान भएको बताइन् ।

ब्युरोले जग्गा हिनामिना आरोपमा १८ जनालाई हिरासतमा राखेर ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘सङ्गठित किर्ते’ मुद्दामा आरोपितलाई पक्राउ गरेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।

सरकारले अधिग्रहण गरिसकेको १४७ रोपनी जग्गा माफियासँग मिलेर हिनामिना गरेको मुद्दा अदालतमा लैजान अब प्रहरी र सरकारी वकिलसँग ४ दिनको समय छ । त्यसमा पनि यसअघि थपिएको समय आजै सकिँदैछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन आएपछि अध्ययन गरेर शुक्रवार अदालतमा मुद्दा दर्ता गर्ने जानकारी दिए ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।
शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चारवटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो । साउन २१ मा न्यायाधीश अनिलकुमार सिन्हा र डा कुमार चुडालको इजलासले सो आदेश गरेपछि पूर्व प्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो ।

मन्त्रिपरिषद्ले २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ मा गरेको निर्णयलाई गलत व्याख्या गरेर जग्गा हिनामिना भएको थियो । जसअनुसार सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय तथा प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो । यसअघि सीआईबीले साउन २८ मा पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।


४ भदौ २०८०, सोमवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु