गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलनको घोषणा
धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै आन्दोलनको घोषणा भएको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बुधवार पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गरेको हो ।
सरकारले बजेटमा गेटामा विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक लोकराज पाण्डेले सरकार आफ्नै निर्णयबाट पछि हटेका कारण बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने बताए । पाण्डेले चक्काजाम गर्ने, प्रदेश प्रमुख, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउनेलगायतका आन्दोलनको कार्यक्रम रहेको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिवद्धता जनाएका थिए । सरकारको नीति तथा कार्यक्रममा पनि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उल्लेख थियो ।
तर बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले विश्वविद्यालय बनाउन नदिने चलखेल भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बजेटमा १०० शय्याको अस्पताल र स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको छ ।
१८ जेठ २०८०, बिहीवार ००:२७ बजे प्रकाशित































