कैलालीका युवकलाई पोर्चुगल पुर्याइदिन्छु भनेर अजरबैजानमा अलपत्र पार्ने पक्राउ
कैलालीको टीकापुर नगरपालिका -१ का कृतक बहादुर साउदले कैलालीकै दिनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटक-पटक गरेर १३ लाख ९२ हजार रुपैयाँ मागे। पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख तलब हुनेगरी काममा लगाइदिन्छु भनेपछि दिनेशको मन पनि पग्लियो।
उनले साउदले भनेझैं विभिन्न मितिमा १३ लाख ९२ हजार पनि बुझाए। साउदले दिनेशलाई पोर्चुगल लग्ने भन्दै नेपालबाट फेब्रुअरी ७ मा उडाए पनि। तर, त्यसपछि उनले पोर्चुगल पुर्याएनन्। अजरबैजान लगेर अलपत्र पारिदिए। अहिलेसम्म पनि दिनेश अजरबैजानमै लुकेर बसेका छन्।
भाइ अलपत्र परेपछि दिनेशका दाइ सिर्जन बमले पटक-पटक साउदलाई कल गरेर भाइलाई स्वदेश फर्काइदिन वा गन्तव्यमा पुर्याइदिन आग्रह गरे। तर, साउदले सिर्जनको आग्रह सुनेनन्। पटक(पटक साउदलाई टेलिफोन गर्दै दिनेशको परिवारले उनको चिन्ताले आफूहरू मानसिक तनावमा पुगिसकेको र उनको उद्धारका लागि आग्रह गर्दा पनि उनले आलटाल गर्दै गए।
त्यसपछि केही उपाय नलागेपछि सिर्जन भाइ दिनेशको उद्धारका लागि प्रहरी र वैदेशिक रोजगार विभाग पुगे। सिर्जनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि प्रहरीले बुधबार साउदलाई पक्राउ गरेको छ।
भाइलाई विभिन्न प्रोलोभनमा पारेर साउदले विदेश उडाए। हामीले दुस्ख गरेर कमाएको पैसा भने बमोजिम दिँदै गयौं। घरमा खाली बस्नुभन्दा भाइले विदेशमा गएर कमाउला र फर्किसकेपछि सबै मिलेर केही व्यापार व्यवसाय गरौंला भन्ने हाम्रो सोच थियो। साउदले हामी सबै परिवारको सपनामाथि खेलवाड गरेका छन्,ु सिर्जन भन्छन्। उनले दुई महिनादेखि भाइ अजरबैजानमा अलपत्र परेकाले कतिखेर पक्राउ पर्छन् भन्ने चिन्ताले पिरोल्ने गरेको बताए।
भाइले विदेशमा उड्दा पैसा कमाएर ल्याएर परिवारका सदस्यको मुहारमा खुसी छर्ने सपना बोकेकोमा साउदले बीच बाटोमै अलपत्र पारेर सबैको आँखामा आँसु भर्ने काम गरेको उनको दुखेसो छ। घर-जमिन धितो राखेर विदेश पठाएको भाइ बाटैमा अलपत्र पर्दा बैंकको किस्ता तिर्नसमेत धौ-धौ भइरहेको उनले बताए।
सिर्जनको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बिहीबार साढे ४ बजे सिनामंगलबाट पक्राउ गरेको हो। वैदेशिक रोजगार विभागबाट साउदलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएकोमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले साउदलाई पक्राउ गरेर वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाएको छ। विभागले उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
१४ वैशाख २०८०, बिहीवार १५:०५ बजे प्रकाशित































