बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप
सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत रहेका बैतडीका ३ क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ विजयी भएको छ।आज सम्पन्न स्ववियु निर्वाचनको अन्तिम परिणाम अनुसार मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा नेविसंघ विजयी भएको हो।
मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतिमा नेवि संघको प्यानलै विजयी भएको छ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्ट विजयी भएका छन्। उनले ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे।
सचिवमा नेवि सङ्घका नीरज भट्ट विजयी भए। कोषाध्यक्षमा पनि नेवि सङ्घकै सुशीला नेगी विजयी भइन्। सदस्यमा नेवि सङ्घकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए।
त्यसै गरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेवि सङ्घका धनी भट्ट विजयी भए। उनले १२० मत ल्याए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याए।
सचिवमा नेविसंघकै किशोरराज पन्त, कोषाध्यक्षमा ममता भट्ट,सदस्यमा पनि नेविसंघकै गीता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन्।
पाटन बहुमुखी क्याम्पसमा नेवी सङ्घकी भागरथी भट्ट विजयी भएकी छन्। भट्टले ८९ मत पाउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए। स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे।
त्रिबिका अन्तर्गतका क्याम्पसहरूमा ५ गते निर्वाचन भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आज निर्वाचन भएको हो ।
त्रिवि मातहतका चार वटा क्याम्पसमा मध्ये, दुई मा अनेरास्ववियु, एकमा अखिल क्रान्तिकारी र एकमा नेविसंघ विजयी भइसकेका छन् ।
८ चैत २०७९, बुधवार २१:४२ बजे प्रकाशित































