घोडाघोडीमा घटे जलपन्छी
नेपालको प्रथम चरा आरक्ष (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी सिमसारमा जलपन्छीको सङ्ख्या घट्दै गएको छ। पछिल्लो तीन वर्ष हिउँदमा गरिएको अनुगमनरअध्ययनले घोडाघोडी सिमसारमा जलपन्छीको सङ्ख्या घट्दै गएको देखाएको हो। चराको संरक्षण गर्ने उद्देश्यका साथ कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई गत वर्ष चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो।
घोडाघोडीसहित कैलाली, कञ्चनपुरका विभिन्न सिमसारमा हिउँमा जलपन्छीको गणना गरिएको थियो। नेपाल पङ्क्षी संरक्षण सङ्घ ९बीसीएन०को अगुवाइमा गरिएको गणनाका क्रममा यस वर्ष घोडाघोडी सिमसारमा जम्मा ८५५ जलपन्छी अभिलेख भएका छन्। यसअघि २०२१ को गणनामा दुई हजार ५८ र २०२२ मा गरिएको गणनामा एक हजार ३३७ जलपन्छी अभिलेख भएका थिए। घोडाघोडीमा जलपन्छी घट्दै गएकोमा यो वर्ष अझै कम पाइएको बीसीएनका चराविद् हिरूलाल डङ्गौराले बताए।
घोडाघोडी सिमसारमा घोडाघोडीसहित ठूला–साना गरेर कैयौँ ताल रहेका छन्। जैविक विविधताका लागि महत्वपूर्ण भएका कारण २००३ मा यसलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो।
घोडाघोडीमा पहिले दुर्लभ जलपन्छी भुँडीफोर गरुड पनि बस्ने गर्दथे। सन् २००७ देखि यो प्रजातिका चरा घोडाघोडी सिमसारमा नदेखिएको बताइएको छ। यस पटक घोडाघोडीमा २८ प्रजातिका जलपन्छी फेला परेका छन्। जसमा विश्वमै दुर्लभ कैले टाउके हाँस, सङ्कटको नजिक रहेको लोभीपापी गरुड, हरिहाँस, कुरारी फ्यालफ्याले, कुर्मा, लाम औँले, बगाले सिम कुखुरा, नादुन हाँसलगायत छन्।
यसैगरी बसन्ता कोरिडोरमा पर्ने सोनिया रुपिया, घोडताल, लौकाहा भौकाहा, कोलकत्ला, रखौना, चम्रहिया, जम्नेहटा, बञ्जरिया तालमा पनि जलपन्छी घटेका छन्। यी तालमा समेत हरेक वर्ष हिउँदमा जलपन्छी गणना हुँदै आएको छ।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका सिकारी तालबाहेक बाँकी सबै तालमा जलपन्छी घट्दै गएको पाइएको चराविद् डङ्गौराको भनाइ छ।
कञ्चनपुरकै बेलौरी नगरपालिका–६, भुराकोटमा रहेको पुरैनी तालमा पनि जलपन्छी घट्दै गएका छन्। यस वर्षको गणनाका क्रममा गत वर्षको तुलनामा जलपन्छीको सङ्ख्या केही बढी पाइए पनि पहिलेको भन्दा धेरै घटेको डङ्गौराले बताए ।
अचेल वन क्षेत्रमा र त्योभन्दा बाहिर रहेका सबैजसो प्राकृतिक तालमा ठेक्कामार्फत माछापालन भइरहेको छ। ठेकेदारले जैविक विविधतामा नै आँच आउने गरी तालमा डोजर चलाएर माछापालन गरिरहेका छन्। यसैगरी तालमा माछा खान आउने चरालाई माछापालकहरूले विष हालेर मार्ने गर्दछन्। जलपन्छीको भइरहेको चोरीसिकारका कारणले पनि सङ्ख्या कम हुँदै गएको डङ्गौराले जिकिर गरे ।
८ चैत २०७९, बुधवार ०८:५६ बजे प्रकाशित































