punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, बिहीबार यूएईलाई हराए सोझै विश्वकप छनोटमा

Chaupati
safha napa

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा पीएनजीविरुद्ध ९ विकेटको कीर्तिमानी जित निकालेको छ।

जितका लागि पीएनजीले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा मात्र एक विकेटको नोक्सानीमा पुरा गर्यो।

नेपालले पावर प्लेमा नै जित निकाल्दै रेकर्ड बनाएको हो। लिग-२ मा नेपालको यो ११ खेलमा १० औं जित पनि हो।

एकदिवसीय मान्यता जोगाइसकेको नेपाल अब सोझै विश्वकप छनोट खेल्न मात्र एक जित पछाडि रहेको छ।

झिनो लक्ष्य भएकाले नेपाली ब्याटरले सुरुवातदेखि नै आक्रमक ब्याटिङ गरे। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि मात्र ३.३ओभरमा ५१ रनको साझेदारी गरेका थिए।

मात्र १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा कुशलले ३३ रन जोडे। आसिफले भने मात्र २१ बलमा ८ चौका र ३ छक्काको सहयोगमा अविजित ५३ रनको योगदान दिए।

त्यस्तै कुशल मल्लले १२ रन जोडेका थिए।

यसअघि सिरिजको तेस्रो खेलमा टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार खेल देखायो।

नेपाली स्पिनर हाबी भएको खेलमा सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएपछि पीएनजी ३२ ओभरमा मात्र ९५ रनमा अल आउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा मात्र २५ रन दिएर ५ विकेट लिएका थिए।

सन्दीपले ओडीआई करिअरमा एकै खेलमा पाँच विकेट लिएको यो तेस्रो पटक हो। सन्दीप अघि करण केसीले मात्र नेपालका लागि तीन पटक पाँच विकेट लिएको रेकर्ड छ।

त्यसैगरी ललित राजवंशीले ७ ओभरमा १३ रन खर्चिएर २ विकेट झारे भने कुशल मल्लले पनि ३ ओभरमा मात्र ६ रन दिएर २ विकेट लिएका थिए। सोमपाल कामीले पनि एक विकेट झारे।

नेपालको आक्रामक बलिङको अगाडि पीएनजीका लागि कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।

कप्तान आसाद भालाले सर्वाधिक २० रन जोड्दा पीएनजीका सात ब्याटरले दोहोरो रन संख्या छुन सकेनन्।

आइतबार यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाइसकेको छ।

अब नेपालको लक्ष्य यूएईविरुद्धको यस सिरिजको अन्तिम खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

लिग-२ को अंक तालिकामा ३५ खेलबाट १८ जितपछि चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ।

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अन्तिम खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।


२९ फागुन २०७९, सोमवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु