मिसन ग्रासरुट र स्ववियु निर्वाचनमा खटिन एमाले नेतृ पालको निर्देशन
कैलाली । नेकपा एमाले पोलिट व्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेबी पालले पार्टीले सुरु गरेको मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन जन वर्गीय सङ्गठनका प्रमुख तथा इञ्चार्जहरुलाई निर्देशन दिएकी छन् ।
आज कैलालीको घोडाघोडीमा सम्पन्न जनसङ्गठन समन्वय विभागको तेस्रो बैठकमा उनले मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन निर्देशन दिएकी हुन् ।
‘पार्टीले अहिले मिसन ग्रास रुट चलाइरहेको छ तपाइहरू जो जहाँ खटिनु भएको छ सक्रियता पूर्वक खटिनु होला’ उनले भनिन् ‘आसन्न स्ववियु निर्वाचनमा पनि हाम्रा उम्मेदवारहरूलाई विजयी गराउने गरि लाग्नु होला
।’
जनसङ्गठन समन्वय विभागका प्रमुख द्धावारिका न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पोलिट ब्युरो सदस्य पाल प्रमुख अतिथि रहेकी थिइन् । उनले कैलालीका सबै स्थानीय तहमा अहिले सक्रियता पूर्वक मिसन ग्रास रुट भइरहेको समेत बताइन् ।
बिभिन्न जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूले ग्रास रुट र स्ववियु निर्वाचनका बिषयमा जानकारी गराएका थिए ।
कैलालीमा ग्रास रुट अभियान राम्रो भइरहेको भन्दै अझै प्रभावकारी बनाउनु पर्ने पालको भनाइ थियो ।
एमाले कैलाली सचिव डेजी पाण्डेले पनि कैलालीमा मिसन ग्रास रुट राम्रो भइरहेको बताए ।
१२६ वडा मध्ये अधिकांश वडामा बैठक सम्पन्न भएको छ उनले भने बाकी केहीमा पनि चाडै हुन्छ । उनले पनि कैलालीमा क्याम्पसहरूमा अखिलका उम्मेदवार विजयी गराउन सबै लाग्नु पर्ने बताएका थिए ।
एमाले उपसचिव तथा प्रचार विभाग प्रमुख ममता प्रसाद चौधरीले ग्रास रुट र स्ववियु निर्वाचनका बिषयमा मिडियामा प्रचार प्रसारलाई पनि तीव्रता दिन आग्रह गरे ।
बैठकमा विद्यार्थी नेताहरूले कैलालीका १४ क्याम्पस मध्ये आधा बढिमा एमाले निकट विद्यार्थी सङ्गठनले स्वबियु जित्ने दाबी गरेका थिए ।
२८ फागुन २०७९, आइतवार १८:५५ बजे प्रकाशित































