punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज उपसभामुख चयन हुँदै, रानामगर र यादव प्रतिस्पर्धामा

Chaupati
safha napa

आज ९शनिबार० प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। यसका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्।

शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन्।

रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।

यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

उपसभामुखमा उम्मेदवारी दिएका दुवै नेतृ फरक पृष्ठभूमिका हुन्।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर पूर्वअधिकारकर्मी हुन्। यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी मुक्ताकुमारी यादव लामो समयदेखि राजनीतिमा संलग्न नेतृ हुन्। दुवै समानुपातिक सांसद हुन् ।

झापाकी ५२ वर्षिया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो। रानामगर मंसिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन्।

११ वर्षको उमेरदेखि विद्यालय जान पाएकी इन्दिराले २०५३ सालमा स्नातक पूरा गरेकी थिइन्। त्यसपछि सामाजिक क्षेत्रमै क्रियाशील रहिन्।

कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन्। उनी त्यस्तै हालका दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन्। बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौं, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।

समाजसेवी रानाले सन् २००५ मा अशोक फेलोसमेत जितेकी थिइन् । दुई दर्जनभन्दा बढी अवार्डबाट सम्मानित भइसकेकी उनी सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा परेकी थिइन् ।

विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएको कांग्रेसको केन्द्रीय सदस्य ४५ वर्षीया मुक्ताकुमारी यादव महोत्तरीकी हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।

पेसाले शिक्षिका र स्नातकसम्म अध्ययन गरेकी यादव २०५३ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्यबाट राजनीति सुरू गरिन्।

उनले नेपाल शिक्षक संघको प्रतिनिधि हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भइन्। २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेकी उनी अहिले प्रतिनिधिसभाको समानुपातिक सांसद् हुन्।

शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।


७ माघ २०७९, शनिवार ०६:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु