नेपाल टी-२० लिग: काठमाडौँलाई हराउँदै पोखराको लगातार तेस्रो जित
नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। अघिल्ला पाँच खेलमा लगातार हारेको पोखराले पछिल्ला तीन खेलमा जित निकाल्दै प्लेअफको सम्भावना कायम राखेको हो।
टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पोखराले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्याे। जितसँगै पोखराको ८ खेलबाट ६ अङ्क भएको छ। पोखरा तालिकाको चौथो स्थानमा रहेको छ।
पोखराको जितमा ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले अर्धशतकीय इनिङ खेलेका थिए। ओपनर महर्जनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाउँदा थरङ्गाले ४९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए।
त्यस्तै, कुशल मल्ल १४ रनमा अविजित रहेका थिए। काठमाडौँका लागि कमल ऐरीले ३ विकेट लिँदा अविनाश वोहोरा र अनिल खरेलले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। उसका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेल्दा सुनम गौतमले ४५ रन बनाएका थिए।
त्यस्तै, वीरेन्द्रदीप संहले ३२ रन बनाएका थिए। पोखराका तुल थापाले २ विकेट लिँदा प्रतिश जिसी र कुशल मल्लले समान १-१ विकेट लिएका थिए।
१८ पुस २०७९, सोमवार १३:३१ बजे प्रकाशित































