आलेले डोट्याली भाषा र नेपाली संस्कृतिकै बेइज्जत गरे: एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताएका छन् । शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आलेलाई इङ्गित गर्दै यस्तो बताएका हुन्।
आज चुनावी आमसभाका क्रममा ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पुर्याउन आग्रह गरे ।
ओलीले भने( मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा हेर्नुभयो यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् ।
ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।
२६ कात्तिक २०७९, शनिवार १५:२७ बजे प्रकाशित































