धनगढीमा खुल्यो १० लाख लगानीमा दिदीबहिनी छात्रावास
धनगढी उपमहानगरपालिका वडा नम्बर -२ बैयाबेहडीमा दिदीबहिनी छात्रावास सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमकाबीच छात्रावास उद्घाटन गरिएको हो ।
छात्राहरुको सहजताका लागि छात्राबास सञ्चालनमा ल्याइएको दिदीबहिनी छात्रावासकी सञ्चालिका सरस्वती शाहीले बताइन् । ‘धनगढीमा कोठा खोज्दा नपाउने र एक्लै बस्दा छात्राहरु असुरक्षित हुने गरेका छन्,’ उनले भनिन्, ‘यस क्षेत्रमा विद्यालय, कलेजहरु बढी भएकाले छात्रावास आवश्यक पनि छ ।’
धनगढीमा सुविधा सम्पन्न छात्राबास नभएको र चर्को मूल्य लिने गरेको अवस्थामा कम मूल्यमा छात्राबासमा सेवा दिइने उनको भनाइ छ । छात्रावास भित्रै योगालगायत व्याट्मेन्टिन जस्ता शारीरिक अभ्यासका क्रियाकलाप पनि गराइने छ । सञ्चालिका शाहीका अनुसार छात्राबास ३२ जना बस्न मिल्ने क्षमताको छ । दिदीबहिनी छात्रावास १० लाखको लगानीमा सञ्चालनमा आएको हो।
२४ कात्तिक २०७९, बिहीवार १९:५४ बजे प्रकाशित































