मकवानपुरमा एकैदिन १ सय २४ जनामा डेंगी पुष्टि
मकवानपुरमा पछिल्लो २४ घण्टाभित्र १ सय २४ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ ।
लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगी पछिल्लो दुई हप्तादेखि मकवानपुरमा भाइरलको रुपमा देखिएको छ । बुधवार दिउँसो ३ बजेसम्मको रिपोर्टअनुसार एकैदिन १ सय २४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । संक्रमित अधिकांश हेटौँडा उपमहानगरपालिकाभित्रका छन् । हेटौँडाका १ सय १४ जनामा संक्रमण देखिँदा थाहा नगरपालिकाको ५ जना, मनहरी गाउँपालिकाको ३ जना मकवानपुरगढी र भीमफेदीको १–१ जना संक्रमित भएका छन् ।
मकवानपुरमा बुधवार दिउसोसम्मको रिपोर्टअनुसार १ हजार ३ सय ३१ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । संक्रमित हुनेमा पुरुष ७ सय ७४ र महिला ५ सय ५७ जना छन् । डेंगी संक्रमणबाट हेटौँडामा १३ वर्षीय बालकको मृत्यु भइसकेको छ ।
२९ भदौ २०७९, बुधवार २१:०२ बजे प्रकाशित































