डडेल्धुराबाट आरजु राणाको नाम समानुपातिकमा सर्वसम्मत सिफारिस
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डडेल्धुराबाट नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाको नाम सिफारिस भएको छ । काँग्रेस डडेल्धुराको आज बसेको बैठकले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । राणा २०७० सालको चुनावबाट संविधानसभा सदस्य बनेकी थिइन् । उनी त्यसबेला पनि डडेल्धुराबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् ।
२०७४ सालको निर्वाचनमा भने उनी कैलाली क्षेत्र नम्बर ५ (क) बाट लडेकी हुन् । अघिल्लो पटक आरजु राणा एमाले उम्मेदवार नारदमुनि रानासँग ५ हजार बढी मतले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् ।
१७ भदौ २०७९, शुक्रवार १८:३० बजे प्रकाशित































