असोज अन्तिम साताबाट म्यादी प्रहरी भर्ना गर्ने तयारी
मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले असोज अन्तिम साताबाट म्यादी प्रहरीको भर्ना लिने तयारी गरेको छ । प्रदेश र प्रतिनिधिसभाका लागि प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयलाई पठाइसकेको छ ।
तर, गृह मन्त्रालयले सो प्रस्तावबारे केही जानकारी गराएको छैन । प्रहरी प्रधान कार्यालयको प्रस्तावबारे गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले अर्थ र गृह मन्त्रालयबाट प्रहरीले पठाएको प्रस्ताव स्वीकृत भए असोज अन्तिम साताबाट चुनावका लागि म्यादी प्रहरी भर्ना लिने तयारी आफूहरूले गरेको बताए ।
गृह र अर्थ मन्त्रालयले चुनावका लागि आवश्यक पर्ने म्यादी प्रहरीको संख्या निर्धारण गर्छ । यसअघि प्रहरीले स्थानीय चुनावमा समेत एक महिनाअघि मात्रै १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।
त्यही शैली अपनाएर प्रदेश र संघको चुनावमा पनि एक महिनाको तलब सुविधा दिएर म्यादी प्रहरी भर्ना गर्ने तयारी सरकारको छ ।
म्यादी प्रहरीबाहेक प्रहरीले आवश्यक १ हजार ७ सय नयाँ गाडीसमेत आवश्यक परेको प्रस्ताव गृह मन्त्रालयलाई पठाएको छ । स्थानीय चुनावमा पनि प्रहरीले १२ सय गाडी भाडामा प्रयोग गरेको थियो ।
संघ र प्रदेशको चुनावमा निर्वाचन केन्द्रहरू थपिने भएपछि म्यादीको संख्या र सवारीसाधनसमेत बढी आवश्यक हुने प्रहरीको भनाइ छ ।
२ भदौ २०७९, बिहीवार १९:०४ बजे प्रकाशित































