punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप दुर्घटना : ओल्केमै अस्ताए बुंगलका पाँच जना

Chaupati
safha napa

सुदूरपश्चिमको जनजीवनमा एउटा प्रचलित उखान छ, ‘मरुँला भनेर विषु खानु, बाँचुला भनेर ओल्के खानु ।’ साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिम प्रदेशमा ‘ओल्के त्यार’ ९पर्व० धुमधाम साथ मनाइरहँदा दार्चुलामा भएको जीप दुर्घटनामा परी एकै गाउँका पाँच जनाको मृत्यु भएको छ ।

जिपमा सवार एकै गाउँका ६ जना भारत जान भनी हिँडेका थिए । तर दुर्भाग्यवशसँगै हिडेका ६ मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भयो । बझाङको बुङ्गल नगरपालिकाका एउटै गाउँका ५ जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

जोखिमपूर्ण सडकमार्गबाट भारत जान हिडेँका उनीहरू अब कहिल्यै नफर्किने गरी गएका छन् । मृत्तकहरूमध्ये ४ जना कामको खोजीमा हिँडेका थिए भने एक महिला उपचारका लागि आफ्नो श्रीमानको साथमा भारतको पिथौरागढ हिँडेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको बुंगल नगरपालिका– ८ का अन्दाजी ५० वर्षीय हिक्मत जाग्री, ५५ वर्षीय पुने बोहरा, ५० वर्षीय उज्जले बोहरा, ५५ वर्षीया चम्पा बोहरा र अन्दाजी ६० वर्षीय रैभान बोहरा छन् । चम्पा र रैभान श्रीमान श्रीमती हुन् । उनीहरू २ जना उपचारका लागि भारतको पिथौरागढ गइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले जानकारी दिए । अन्य भने रोजगारीका लागि गइरहेको बुझिएको छ ।

दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका– ७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका– ८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले जानकारी दिए ।

घाइते ९ जनामध्ये ४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेहरूमा प्रदिप, गोमती, रुपा र सुमन सिंह रहेका छन् । अन्य घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी गहामगरले बताए ।

‘दुर्घटनामा मृत्यु भएकाहरूका आफन्त पुगिसेका छन्, अहिले क्रिया खर्च वाफतको रकम उपलब्ध गराएपछि उनीहरूले शव बुझ्ने सहमत भएका छन्’, उनले भने । मृतकको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ । भोली पोष्ट मार्टमको काम सकिएपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने उनले बताए ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो । वर्षाका कारण क्षतिग्रस्त सडकमा अनियन्त्रित भएर जीप खसेको अनुमान गरिएको छ ।

ओल्के मनाउन घर आएका उनीहरू दशैंँ तिहार खर्च जुटाउन बिहानै भारततर्फ लागेका थिए । भारतका सीमावर्ती शहरहरूमा दैनिक मजदुरी गरेर यहाँका विपन्न परिवारले आफ्नो दैनिक खर्च टार्दै आएका छन् ।


२ भदौ २०७९, बिहीवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु