राष्ट्रपतिको चासो बेवास्ता गर्दै नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिक ऐन संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले हिजो सावर्जनिक गरेको आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा सो विधेयक पारित गर्ने विषय समावेश छ ।
आज प्रतिनिधिसभामा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
सरकारले राष्ट्रपति भण्डारीबाट आएको १५ बुँदे सन्देशको सम्बोधन नगरी यसअघि नै पारित गरेको विधेयकलाई फेरि पारित गराउने तयारी गरेको हो । सोही अनुसार बुधबार संसद सचिवालयले कार्यसूची बनाएको बुझिएको छ ।
राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशमा विदेशी बुहारीलाई तत्काल नागरिकता दिने विषय र महिलाले श्रीमान नभएको स्व घोषणा गर्नुपर्ने प्रावधानमा पुनर्विचार हुनुपर्ने बताएकी थिइन् । तर, सरकारले त्यसमा कुनै संशोधन नगरी यसअघिकै विधेयकलाई अगाडि बढाउने भएको हो ।
राष्ट्रपतिले सन्देशसहित पुनःविचारका लागि विधेयक फिर्ता गर्न पाउने संवैधानिक व्यवस्थाअनुसार सो विधेयक फिर्ता पठाएकी थिइन् । यसरी फिर्ता भएको विधेयक संशेधन वा जस्ताको तस्तै सदनले फेरि पारित गरी पठाएमा १५ दिनभित्र राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सत्ता गठबन्धनको बैठकले सो विधेयक जस्ताको त्यस्तै पठाउने निर्णय गरेको थियो ।
२ भदौ २०७९, बिहीवार ०८:०७ बजे प्रकाशित































