एक हजार शैयाको होल्डिङ सेन्टर सञ्चालनमा अन्योलता
कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भइसकेको । होल्डिङ सेन्टर तयार भइसक्दा पनि तर सञ्चालनमा अन्योलता देखिएको छ । ४ बिगाह क्षेत्रफलमा निर्माण भएको होल्डिङ सेन्टरको लगात २८ करोड ८१ लाख १२ हजार रुपियाँ रहेको छ । ठूलो लगानीमा निर्माण भएको होल्डिङ सेन्टर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा धनगढी उपमहानगरपालिकालाई दिने भन्ने कुराको टुङ्गो लाग्न सकेको छैन ।
सङ्घीय सरकारको लगानीमा निर्माण भएको सो होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने भन्ने नै टुङ्गो लाग्न नसकेपछि सञ्चालनको अन्योलता देखिएको हो । ‘कसलाई दिने भनेर छलफल भए पनि टुङ्गो लागेको छैन’, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने,‘ निर्माणको सबै काम भइसकेको हुँदा केही दिनभित्रै यसको पनि कस्लाई दिने भन्ने निर्णय हुन्छ ।’ त्यसमा २२ वटा क्वारेन्टाइन ब्लक, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन् । एक हजार शैयाको होल्डिङ सेन्टरमा एक सय बेड अक्सीजन सहितको वेडहरु रहेका छनु । यस्तै बाँकी रहेका ९ सय बेड भने साधारण बेड रहेका छन् । वेडहरु तल माथि सार्न मिल्ने खालका रहेका छन् ।

होल्डिङ सेन्टरलाई सामुदायिक अस्पताल बनाउनका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले माग गरेको छ । यसका लागि प्रस्ताव भए पनि ठोस निर्णय भने हुन सकेको छैन् । होल्डिङ सेन्टरलाई सामुदायिक अस्पताल बनाउनका लागि सकेसम्म चाँडै निर्णय आउने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए । ‘सामुदायिक अस्पताल सञ्चालन गर्ने भनेर उपमहानगरपालिकाले प्रस्ताव अगाडि बढाएको छ, निर्णय भने भइसकेको छैन’, उनले भने । अहिले फेरि कोभिड संक्रमण पनि बढेको छ । यसलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ छलफलमै रहेको बोहराको भनाई छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंहले आवश्यक परेको बेलामा कोभिड संक्रमितलाई त्यसैमा व्यवस्थापन गरिने बताए । ‘संघ सरकारले सकेसम्म प्रदेशलाई नै हस्तान्तरण गरोस भन्ने हो’, उनले भने । हस्तान्तरण नभएपछि होल्डिङ सेन्टरलाई होल्डिङ सेन्टरकै रुपमा प्रयोग गर्ने वा के बनाउने भन्ने नै निश्चित भएको छैन ।
हस्तान्तरण भइसकेपछि के गर्ने भन्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीको भनाइ छ । ‘ कोरोना संक्रमित मात्रै नभएर अन्य खालका महामारीका लागि पनि त्यसलाई प्रयोग गर्न सकिन्छ’, उनले भने ।
सुदूरपश्चिममा कोरोना संक्रमण अत्याधिक बढेपछि त्यतिबेला त्रिनगर गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण सुरु गरिएको थियो । २०७८ असार ३ मा त्यसको ठेक्का भएको थियो । हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएर निर्माणको काम गरेको छ । अनुगमन र व्यवस्थापनको कार्य भने धनगढीस्थित नेपाली सेनाको भवानी दल गणले गरेको थियो ।
२०७८ भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण सम्पन्न गर्नु पर्ने समायवधि रहे पनि तोकिएको समयमा निर्माणको कार्य पूरा हुन सकेन । गएको जेठमा निर्माणको सबै काम पूरा भएको निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका सहायक कोडिनेडर यज्ञ पुरुष न्यौपानले जानकारी दिए । ‘जेठमा नै हामीले सबै काम सम्पन्न गरिसकेका छौं, ‘तर, हस्तान्तरण भने असारमा ग¥यौ’, उनले भने । असारको तेस्रो साता नेपाली सेनालाई हस्तान्तरण गरेकोे हनुमान कन्स्ट्रक्सनका सहायक कोडिनेडर न्यौपानले बताए ।

जिम्मामा भएको सबै काम भइसकेर सेनालाई दिएको बताउँदै त्यहाँ रहेको भित्री बाटोको जिम्मा कन्स्ट्रक्सन नरहेको उनको भनाई छ । निर्माण कम्पनीले होल्डिङ सेन्टर निर्माणको सम्पूर्ण भुक्तानी पनि लिइसकेको छ । होल्डिङ सेन्टरको सबै काम सम्पन्न भइसकेको भएपनि तर बाटोको निर्माण भने हुन सकेको छैन् ।
होल्डिङ सेन्टर हस्तान्तरण नै नभएपछि अहिले त्यसको रेखदेख नेपाली सेनाले गरिरहेको छ । त्यसको सुरक्षाका लागि केही २० जना नेपाली सेना खटिएका छन् । सुदूरपश्चिममा अहिले कोरोना संक्रमण बढीरहेको छ । होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने र कसरी सञ्चालन गर्ने बिषयमा नै टुङ्गो नलागेपछि निर्माण गरिएको होल्डिङ सेन्टरमा ताल्चा लागेको छ ।
३० साउन २०७९, सोमवार १६:१५ बजे प्रकाशित































