पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो!
पश्चिम नवलपरासीमा पानी नपरेपछि किसानले जनप्रतिनिधिको हात बाँधेर मन्दिरमा लगेका छन्। सरावल गाउँपालिकाका किसानले वर्षाको माग्न गर्दै जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेका हुन्। जनप्रतिनिधिलाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा यस्तो कार्य गरेको किसानले बताएका छन्।
पश्चिम नवलपरासीको २१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। समयमै रासायनिक मल नपाएर किसान आजित बनेका किसान पानी नपर्दा धान सुक्न थालेपछि चिन्तित छन्। खडेरीले माटो सुक्दा खेतमा धाँजा फाटेको छ।
सरावल गाउँपालिकाका अध्ययक्ष सुखाडीप्रसाद चौधरीले जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगेर स्वच्छ मनले पूजाअर्चना गरे भगवान् खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको बताए।
उनले भने, ‘जब साउनमा पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ। अगुवाले स्वच्छ मनले पूजा गरेमा पानी पर्ने विश्वासमा छ।’
तीन दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिरमा पूजाअर्चना गर्दा भगवान् खुसी भएर पानी दिने जनविश्वास भएको उनको भनाइ छ।
अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा कायम छन्। अघिल्लो वर्ष डुबानका कारण धान उत्पनदनमा क्षति भए पनि यस वर्ष जिल्लामा धान उत्पादन बढ्न सक्ने कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ।
जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले जानकारी दिए। प्रतिहेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाइँ सकिएको उनको भनाइ छ।
२ साउन २०७९, सोमवार १७:३२ बजे प्रकाशित































