टिंकरमा बीओपीका भवन रित्तै

पश्चिम नेपालको सामरिक महत्त्वको क्षेत्र टिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको १० महिना पुगेको छ । तर, संरचना बनेको १० महिना बितिसक्दा पनि सशस्त्र प्रहरी बल टिंकरमा खटिएको छैन ।

चीनसँगको सीमाक्षेत्र निगरानी गर्न ब्यास गाउँपालिका–१ टिंकरको छ्यालेकमा बनाइएको सशस्त्र प्रहरीको बीओपी भवन । तस्बिर स् मनोजरकान्तिपुर

गत आर्थिक वर्षमा सरकारले व्यास गाउँपालिका–१ को टिंकर र कौवा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने भने पनि टिंकरमा बीओपीका भवन चालु आवको सुरुमा निर्माण सम्पन्न भएको थियो ।

यो बीओपी तिब्बत नाका भएर हुने चोरी, तस्करी, सिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्न स्थापित भए पनि हालसम्म त्यहाँ खटिने सशस्त्र प्रहरी बलको तैनाथी हुन सकेको छैन ।

सरकारले चिसो मौसममा पनि बस्न मिल्ने संरचना गत साउनमा निर्माण सम्पन्न भएको थियो । बीओपीको भवन निर्माण भए पनि अहिलेसम्म सशस्त्र प्रहरी टिंकरमा बस्न गएका छैनन् । टिंकर बीओपीमा सबै किसिमको संरचना तयार भइसकेको हुनाले बीओपी सञ्चालन कहिलेबाट हुने निश्चित नभएको सशस्त्र प्रहरीका प्रवक्ता बिदुर खड्काले बताए । ‘टिंकरमा बीओपी सञ्चालनमा ल्याउन माथिल्लो तहमा कुरा चलेको छ,’ उनले भने, ‘यही मितिमा सञ्चालनमा ल्याउने यकिन नभए पनि तयारीमा रहेका छौं ।’

अहिले टिंकर क्षेत्रमा छाङ्रुमा रहेको ५० नम्बर गुल्मबाट सीमा निगरानीका लागि सशस्त्रको गस्ती गरिरहेको छ । अन्य ठाउँहरूमा पनि सशस्त्रको बीओपी निर्माण भएका हुनाले जनशक्ति खटाउनका लागि तयारी भइरहेको र टिंकरमा पनि त्यसैअनुसार सञ्चालनमा ल्याइने प्रवक्ता खड्काको भनाइ छ ।

सीमा प्रहरी चौकी टिंकरमा प्रहरी नायब निरीक्षकको कमान्डमा नेपाल प्रहरी खटिएको छ । चिसो छल्न गत कात्तिकतिर छाङ्रु झरेको नेपाल प्रहरी वैशाखको अन्तिममा टिंकरमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिंकर सीमातिर छाङ्रुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मबाट कहिलेकाहीं गस्तीमा जाने गरेका छन् । निर्वाचनको बेला टिंकर भन्ज्याङसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली गएको थियो ।

ब्यास गाउँपालिका–१ कै कौवा क्षेत्रमा स्थानीयले सशस्त्र प्रहरीको बीओपी निर्माणका लागि गत वर्ष नै माग गरे पनि अहिलेसम्म सरकारले निर्माणमा चासो नदिएको स्थानीयको आरोप छ । टिंकर नाकानजिक नेपाल प्रहरीको सीमा चौकी छ । भारतद्वारा अतिक्रमित नेपाली भूमि भए पनि वर्षौंदेखि गुञ्जीमा भारतीय सुरक्षाकर्मीको तैनाथी रहेको स्थानीय बताउँछन् ।

कौवा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी निर्माण भए अतिक्रमित नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको गतिविधिमा निगरानी गर्न सकिन्छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म भए पनि कौवा क्षेत्रमा गस्तीका क्रममा मात्र सुरक्षाकर्मी जाने गरेका छन् ।

अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल सरकारले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र ब्यासमा सशस्त्र प्रहरीको उपस्थिति गराएको थियो । पहिलो पटक जिल्लाको त्रिदेशीय सीमा नाकामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको उपस्थिति भएसँगै ब्यासमा थप सुरक्षाको व्यवस्था भएको हो ।

सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतसँग सीमा जोडिएका दार्चुलाका आधा दर्जन क्षेत्रमा बीओपी स्थापना गरेको थियो । केही स्थानमा बीओपी स्थापना गर्ने जनाएको थियो । अहिले छाङरुमा सशस्त्र प्रहरीको गुल्म निर्माणाधीन अवस्थामा छ ।

टिंकर गाउँबाट दुई किलोमिटरको दूरीमा रहेको छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको सीमा चौकी छ । छियालेकभन्दा माथि मानव उपस्थिति छैन । त्यहाँबाट सातरआठ घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भन्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।

चीनको ताक्लाकोटसँग जोडिएको टिंकरमा स्थापना गरिएको यो पहिलो बीओपी हो । चीनको ताक्लाकोट नजिकै रहेको टिंकरको छयालेकमा सशस्त्र प्रहरीले बीओपी भवन निर्माणको ठेक्का पाएको धुलिखेल प्याराडाइज एलबी जेभीले गत साउनमा निर्माण सम्पन्न गरेको थियो ।कान्तिपुरबाट


२४ जेठ २०७९, मंगलवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु