सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको आधा बजेट पनि खर्च हुने सम्भावना नरहेपछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुन बाँकी रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरुलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ । मन्त्रालयले आवश्यक कार्यक्रम तथा योजनाका लागि सरोकारवालाहरुसँग रायसुझाव लिन सुरु गरेको छ ।

शुक्रबार मन्त्रालयले आगामी वर्षको बजेट निर्माणका लागि धनगढीस्थित सञ्चारकर्मीहरूसँग राय सुझाव मागेको थियो । सो अवसरमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी बजेटमा टुक्रे योजना समावेश नगर्ने र मन्दिर तथा अन्य अनावश्यक योजनामा बजेट नराखिने बताए ।

उनले अहिले सम्बन्धित मन्त्रालयहरूमा बजेट सिलिङ पठाइएको र सोही अनुसार मन्त्रालयहरुले योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षमा बजेटको आकार ३१ अर्बको हाराहारीमा हुन सक्ने बताए । यद्यपि अहिलेको खस्कँदो अर्थतन्त्रका कारण केही भन्न नसकिने उनको भनाइ थियो ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानीकरण र राजश्व बाँडफाँटको बजेट सिलिङसमेत पठाइसकेको उनले जानकारी दिए । उनले अहिले देखिएको अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै प्रदेशमा पनि अनावश्यक सामग्रीको आयातमा रोक लगाउने गरी प्रदेश सरकारले मापदण्ड तयार गरिरहेको बताए ।

उनले विलासिताका सामानको आयातमा कमी ल्याउन प्रदेश सरकारले तयारी गरिरहेको बताए । प्रदेशमा अन्तर्राष्ट्रिय नाका नहुँदा ठुला कलकारखानालाई लगानी गर्न समस्या भइरहेको बताए ।
मन्त्री रावलले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयले प्रदेशसभाका संसदीय समितिका पदाधिकारी, प्रदेशसभा सदस्य, मन्त्री, पूर्व अर्थमन्त्री, निजी क्षेत्रका व्यावसायिक संघसंस्था, नागरिक समाज, बुद्धिजीवी, आम सञ्चार र सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।


१६ वैशाख २०७९, शुक्रवार २२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु