विमानस्थलको शौचालयमा २ केजीबढी सुन, कर्मचारीसहित ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र राखिएको डस्टबिनमा सुन लुकाएर तस्करी भएको प्रहरीले भेटेको छ । बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो ।

प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको याङवरक -५ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादी ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङका -२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर -२ का ४१ वर्षिय हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा ४ का ३६ वर्षीय ताराकान्त चौधरी छन् ।

चौधरी हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एन्ड सरसफाइका सुपरभाइजर हुन् भने माबो र तामाङ सरसफाइ कामदार हुन् ।

माबोले विमानको शौचालयभित्र रहेको डस्टबिनमा राखिएको सुन लिएर बाहिर आएको र फोहोर जम्मा गर्ने ठाउँमा सुमनसँग बाँडेर बाहिर पास गर्न खोजेको विमानस्थल प्रहरीको दाबी छ।

 


१६ वैशाख २०७९, शुक्रवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु