कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढ्दै
कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसनीको संख्या बढ्दै गएको छ । विगत तीन वर्षयता यहाँ लागुऔषध सेवन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा कुलतमा फस्ने स्कुले विद्यार्थी पनि छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागुऔषध दुर्व्यसनमा रहेको जानकारी दिए ।
“पटक पटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।”उनले भने,“लागुऔषध दुर्व्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ ।”प्रहरीले भारतसित खुल्ला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगर लगायतका लागुऔषधको कारोबार नियन्त्रणमा चुनौती रहेको बताउँदै आएको छ ।
“भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन् ।” प्रवक्ता शाहले भने यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन ।”यहाँ लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ ।प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ लागुऔषध सेवन कर्ता पक्राउ परेका थिए । यसमा सात भारतीय नागरिक हुन । सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो ।
त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या बढेर २३० जना पुगेका थिए । साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ । सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो अवधिमा लागुऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहेरोइन २६५.२३ ग्राम , चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
१८ चैत २०७८, शुक्रवार १४:२५ बजे प्रकाशित































