बुधबार ४० अंकले बढ्यो नेप्से, १ सय ७८ कम्पनीका लगानीकर्ताले कमाए नाफा
बुधबार शेयरबजार परिसूचक नेप्से ४०.६८ अंकले बढेर २५६८.२५ अंकमा पुगेको छ । नेप्से बढेसँगै १ सय ७८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो बनाएको छ ।
नेप्से चैत ९ गते बुधबारदेखि नै घट्दो क्रममा थियो । नेप्सेमा सो दिन २०.३४, बिहीबार १६.६९, आइतबार ४१, सोमबार २९.९८ र मंगलबार १४ अंकको गिरावट आएको थियो । बुधबार भने बजार दोहोरो अङ्कले बढेको हो । आज ४५ लाख २ हजार ५११ कित्ता शेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा कारोबार भएको छ । नेप्सेका १३ वटै उपसूचकहरू आज हरिया छन् ।
अन्य समूहको शेयरमा सबैभन्दा धेरै ४.१२ प्रतिशत वृद्धि भएको छ । विकास बैंक समूहको ३.३२, वित्त समूहको ३.२९ र होटल तथा पर्यटन समूहको शेयर पनि २.५१ प्रतिशतले बढेको हो । आज इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।
१६ चैत २०७८, बुधवार १६:०५ बजे प्रकाशित






























