नेता कार्यकर्तालाई चुनावी चटारो, उम्मेदवार टुङ्गो लगाउन सकस
स्थानीय तहको निर्वाचन आउन करिब ४५ दिन मात्र बाँकी रहँदा विभिन्न दलका नेता र कार्यकर्ता मतदाता रिझाउने गतिविधिमा व्यस्त हुन थालेका छन् । गत निर्वाचनपछि गाउँघरतिर मुख नदेखाएका नेता कार्यकर्ता यतिबेला अनेक बहाना बनाएर जनताको घरदैलोसम्म पुगिरहेका छन् ।
सत्ताको प्रमुख घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु विभिन्न नारा र कार्यक्रम लिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा पुगेका छन् । कांग्रेसले ‘घरघर जाउँ कांग्रेस जिताऔं’ भन्ने नाराका साथ चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहँदा नेकपा एमालेले पनि चुनावको तयारी स्वरुप बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रिया सञ्चालन गरिरहेको छ ।
बैठक, भेला, प्रशिक्षणमा स्थानीय तहको चुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको राजनीतिक दलका नेता कार्यकर्ता बताउँछन् । पालिका तहमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको नामको टुङ्गो लागाउन बाँकी रहँदा भइरहेका राजनीतिक दलका भेला, प्रशिक्षण, बैठक कुन तहमा कस्तो व्यक्तिलाई टिकट दिँदा चुनाव जित्न सकिन्छ भन्नेमा केन्द्रित देखिन्छन् ।
चुनावी चहलपहल बढ्दा नेपाली कांग्रेसले ‘घर घर जाउँ, कांग्रेस जिताऔँ’ भन्ने नारासहित प्रशिक्षण, भेला र बैठक गरिरहेको सो पार्टीका कैलाली जिल्ला सचिव नृप सुनारले बताए । वैशाख पहिलो हप्ताभित्र स्थानीय तहमा उठ्ने पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने गरी यतिबेला कार्यकर्ता र आमजनताको राय बुभ्mने काम समेत नेताहरुले गरिहेको उनको भनाइ छ । विधान बमोजिम पार्टीका विभिन्न तहमा रहेका संसदीय बोर्डले उम्मेदवारको टुङ्गो लगाउने कांग्रेस सचिव सुनारले बताए ।
नेकपा एमालेले पनि चुनाव लक्षित बैठक, छलफल कार्यक्रमलाई तीव्र बनाएको छ । एमालेका कैलाली जिल्ला पूर्वसचिव रणबहादुर चन्दले आगामी चुनावी रणनीतिमा केन्द्रित रहेर पार्टीले काम गरिरहेको बताए ।
सुदूरपश्चिममा संयुक्त सरकार चलाइरहेका नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत (समाजवादी) पनि पार्टी सङ्गठन सुदृढीकरणका लागि आक्रामक रुपमा लागेका छन् । यी दुवै पार्टीका केन्द्रीय नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरु गाउँ र टोल केन्द्रित कार्यक्रम लिएर पटकपटक मतदातासम्म पुगिरहेका छन् ।
एकीकृत समाजवादी पार्टीका कैलाली जिल्ला सचिव खडक रावतले आगामी चुनावमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन आवश्यक पर्ने सबै तयारीमा पार्टी लागेको बताए । चुनावमा सकभर सत्तापक्षीय दलको गठबन्धन बनाएर जाने र गठबन्धनमा कांग्रेस सहमत नभए कम्तीमा पनि एमाले बाहेकको बामपन्थी दलको गठबन्धन बनाएर चुनावमा होमिने तयारी भइरहेको उनको भनाइ छ । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लाका कूल १३ स्थानीय तहका प्रमुखमध्ये सात तहमा एमाले, धनगढी उपमहानगरपालिकासहित तीन तहमा कांग्रेस, दुई तहमा नेकपा माओवादी केन्द्र र एक तहमा तत्कालीन लोकतान्त्रिक फोरमका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए । लोकतान्त्रिक फोरम अहिले कांग्रेसमा समाहित भएको छ भने एमाले विभाजन भइसकेको छ ।

पाँच वर्षको अवधिमा विभिन्न पार्टीमा भएको विभाजन, आन्तरिक गुटगत राजनीति लगायतका कारण पालिका तहको निर्वाचनको परिणाम पहिलेको भन्दा फरक आउन सक्ने नागरिक अगुवा प्रमोद पाठक बताउँछन् । चुनावी गतिविधि बढ्दै गएपनि निर्वाचनमा सत्ताधारी दलबीच गठबन्धन हुने नहुने निश्चित् भइसकेको छैन । कैलालीको क्षेत्र नं १ मा टीकापुर घटनामा दोषी ठहर गरिएका रेशमलाल चौधरीको नयाँ दलको गतिविधि बढ्न थालेको छ । अन्य दलको तुलनामा कैलालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका चुनाव केन्द्रित गतिविधि कम देखिएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी सहर र प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगरपालिकाको चुनावलाई बढी चासो र उत्सुकतापूर्वक हेरिएको छ । यहाँ विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजीनामा दिएर व्यवसायी गोपाल हमालले मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गरेर मतदाता भेटघाट कार्यक्रमलाई एक महिना अघिदेखि निरन्तराता दिइरहेका छन् । अरु दलले भने अहिलेसम्म कुनै पालिकामा पनि उम्मेदवार तय गरिसकेका छैनन् ।
१४ चैत २०७८, सोमवार १९:५६ बजे प्रकाशित































