सुदूरपश्चिमाञ्चल क्याम्पसमा विदेशी अध्यापकद्वारा अङ्ग्रेजी प्रशिक्षण
सुदूरपश्चिमाञ्चल क्याम्पसले आफ्ना विद्यार्थीहरूको भाषा सुधार गर्नका लागि विशेष व्यवस्था गरेको छ । नेपाल अस्ट्रेलिया सांस्कृतिक आदनप्रदान कार्यक्रम अन्तर्गत सो क्याम्पसले अङ्ग्रेजी भाषामा विद्यार्थीको दक्षता वृद्धि गर्न विदेशी भाषा प्रशिक्षकको व्यवस्था गरेको हो ।
यस कार्यक्रम अन्तर्गत अस्ट्रेलियाबाट अमिन्दा भागन सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीलाई अङ्ग्रेजी भाषा सिकाउन धनगढी आएकी छिन् । उनले एक महिना लामो धनगढी बसाईमा सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीलाई अंग्रजी भाषा सिकाउने छिन् ।
अन्तर्राष्ट्रिय भाषाको ज्ञान दिन तथा विद्यार्थीको आत्मविश्वास बढाउन अस्ट्रेलियाकी भागनलाई निमन्त्रणा पठाइएको र उनले सहजतापूर्वक प्रस्ताव स्वीकार गरी पढाउन आएको क्याम्पस प्रमुख योगराज गौतमले बताए । सुदूपश्चिमाञ्चल क्याम्पसले विद्यार्थीहरूको क्षमता विकासका लागि विभिन्न कृयाकलाप गर्दैै आएको छ ।
नयाँ ठाउँमा आएर आफूले जानेको कुरा बाँडन र नयाँ कुरा सिक्न पाउँदा धेरै खुशी लागेको आमन्दा भागनले बताइन् । अङ्ग्रेजी, अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात भाषा भएपनि सबै विद्यार्थीको उच्चारण राम्रो नहुँदा धेरै विद्यार्थीले विश्वब्यापी सुनौला अवसरबाट वञ्चित हुनुपरेको छ ।
त्यसैले भाषा सुधार गर्नका लागि अतिथि अध्यापक बोलाएर प्रशिक्षण दिन लागेको क्याम्पसले जनाएको छ । विदेशी नागरिकबाट अंगे्रजी भाषा सिक्ने अवसर पाएपछि बुझ्न सजिलो भएको कक्षा १२ मा अध्यनरत रवि भुलले बताए ।
८ चैत २०७८, मंगलवार १४:२६ बजे प्रकाशित































