punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘बगरमा श्रम नगरी बल्दैन चुलो’

Chaupati
safha napa

भीमदत्त नगरपालिका–१२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन् ।पारिवारिक समस्याले दैनिक गुजारा चलाउन सकस हुन थालेपछि विगत चार वर्षदेखि नदीको बगरमा श्रम गरिरकी उनले दुई वर्ष भने कोरोना महामारीका कारण काम गर्न नपाएको बताइन् ।

‘श्रीमान् सहचालकको काममा हुनुहुन्छ, म चाहिं दुई नाबालक छोरा आमालाई हेरचाह गर्न लगाएर बालुवा र गिट्टी छान्न यहाँ आउँछु’ जानकीले भनिन्, ‘यस्तो गर्मीमा बगरमा कष्टपूर्ण काम गर्ने कसलाई रहर हुन्छ र बाध्यताले यहाँ आएको हूँ ।’

उनले बगरको कमाइले छोराहरुका लागि कापी, कलमका साथै दैनिक रासन किन्ने गरेको बताइन् । जानकी जस्तै यहाँ दलित र विपन्न समुदायका अधिकांश महिला यतिबेला महाकालीमा बालुवा र गिट्टी छान्दै छन् । उक्त नदीको तटीय क्षेत्रका साथै कञ्चनपुरको शुक्लाफाँटा, बेल्डाँडी र बेलौरी नगरपालिकालगायत क्षेत्रका वासिन्दा दैनिक गुजारका लागि बालुवा छान्न आएका भेटिन्छन्

बेल्डाँडी र बेलौरीबाट आएकाहरु बगरमा झोपडी बनाएर श्रम गरिरहेका छन् । महाकाली नदीमा मजदुरी गर्नेहरुबाट प्रति ट्रली बालुवा रु एक हजार र गिट्टी दुई हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

‘यो पालि त निर्माण सामग्री महँङ्गो भएर हो कि के हो रु ट्र्याक्टर पनि बालुवा, गिट्टी लिन धेरै आएका छैनन्’ भीमदत्त नगरपालिका–१३ बडैपुरका ७० वर्षीय नरी परीले भने, ‘एक हप्ता भयो, सङ्कलन गरेको सामान नै बिक्री भएको छैन ।’

आफन्तले दिएको तटीय क्षेत्रको घडेरीमा झोपडी बनाएर बसेका बाजुराका परीले पनि आफ्नो रोजगारीको गन्तव्य नै नदीको बगर भएको बताए । ‘पहाड बाजुरा घरमा खोलाले छोरा बुहारी नै बगाए पछि म विरक्त भएर यहाँ झरेँ,’ उनले भने, ‘कोरोनाका बेला राहतले भोक टर्‍यो, अहिले नदीमा वालुवा छान्दै छु ।’

असोजदेखि जेठ मसान्तसम्म बगरमा श्रम गर्दै आउनु भएका उनले असोजदेखि भदौसम्म भने गाउँमा ज्याला मजदुरीमा लाग्ने गरेको बताए । महाकाली नदीमा उत्तर भुजेलादेखि दक्षिणमा बडैपुरसम्म दैनिक चार–पाँच सय मानिसहरु बालुवारगिट्टी छान्न व्यस्त देखिन्छन् ।

त्यसैगरी बडैपुरकी ६८ वर्षीया वैशाखी सुनार पनि बगरमा तीन पुस्तासँगै वालुवा छान्दै गरेको अवस्थामा भेटिइन् । ‘यो पालि महाकाली नदीमा आएको बाढीले धानको दानासम्म देख्न पाएनौं’ उनले भनिन्, ‘के गर्ने हजुर, दिनभरि बगरमा काम नगरी बेलुकी घरको चुल्हो बल्दैन ।’

बुहारी र नातिनीसहित बगरमा श्रम गरेको एक दशक नाघेको सुनारको भनाइ थियो । ‘छोराले बुहारी छाडेर अन्तै विवाह गरेर हिँड्यो, बुहारी र नातिनी लिएर काम गर्दै जीविका चलाउँदैछु’ उनले भनिन्, ‘नातिनी अञ्जुले पनि घरको अवस्थाले तीन वर्षअघि दश कक्षामै पढाइ छाड्नुभयो ।’

आमा र बज्यैसित बालुवा छान्दै गरेकी अञ्जुले पनि बगरमा काम गर्न आउनु आफ्नो बाध्यता भएको सुनाइन् । ‘कुनै सीप सिकेर आयमूलक काममा लाग्न पाएको भएको भए हुन्थ्यो भन्ने सोचमा छु’ अञ्जुले भनिन्, ‘तर के गर्नु माथिल्लो तहमा आफ्नो पीडा सुनिदिने कोही भएनन् ।’

उनले बस्तीमा कोरोनाका बेला राहतस्वरुप खाद्यान्न पाए पनि आफ्नो परिवारलाई बेवास्ता गरिएको दुःखेसो गरिन् । ‘हिजोआज बिहान ६ बजे आएर साँझ ७ बजेसम्म बगरमै वालुवा छान्छौँ,” अञ्जुले भनिन्, ‘घरका सबै यहाँ आएर काम गर्दा मुस्किलले घर खर्च चलेको छ ।’

त्यस्तै बडैपुरकी जुना लुहार पनि आधा दशकदेखि बगरकै काममा पाएको ज्यालाको भरमा जीविका चलाउँछिन् । ‘दालचामलदेखि छोराछोरीको कापीकलमका लागि बगरमा काम नगरी हुँदैन’, उनले भनिन्, ‘बालुवा र गिट्टीको समयसापेक्ष मूल्य भएन ।’

निकै कष्ट गरेर छानेको बालुवा अन्यत्रभन्दा सस्तोमा बिक्री गर्नु परेको लुहारको भनाइ थियो । दलित र विपन्न समुदायसँगै तटीय क्षेत्रका अन्य समुदायका महिला तथा पुरुष पनि फुर्सदका बेला बगरमा बालुवारगिट्टी छान्न जाने गरेको स्थानीयवासी बताउँछन् ।


६ चैत २०७८, आइतवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु