बझाङको खप्तडछान्ना गाउँपालिकामा अपाङ्गतामैत्री भवन निर्माण
बझाङको खप्तडछान्ना गाउँपालिकाले अपाङ्गतामैत्री भवन निर्माण गरेको छ । गाउँपालिकाले करिब ५ करोड ३९ लाख ५४ हजार ५ सय ५९ रुपैयाँ लागतमा खप्तडछान्ना गाउँपालिका–४ पसल बगर नजिक आफ्नो भवन निर्माण गरिएको हो ।
भवन निर्माण भएपछि कामकाज र सेवा प्रवाह गर्न सजिलो हुने भएको छ । ०७७ साउन देखी निर्माणको काम पाएको विकोइ विल्डस सुर्मा सरोवर जेबीले निर्माण अवधि ३६ महिना भएता पनि १५ महिना अगाडी नै भवन निर्माणको काम सकेपछि हस्तान्तरण तथा भवनको उद्घाटन समेत गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेपछि भाडाको घरबाट सेवा दिँदै आएको खप्तडछान्ना गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिने भएको हो ।
गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै भवनबाट केही दिनमा प्रशासनिक काम देखी सेवा प्रवाह एकै ठाउँबाट हुने भएकाले सजिलो हुनुका साथै अपाङ्गतामैत्री भवन भएकाले हुइलचिएर जाने र र्याम्प समेत राखिएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहज हुने बताए ।
उक्त भवनका १३ वटा कोठा, १ सभाहल, र शौचालय रहेका छन् । उक्त भवनका लागी ५ रोपनी निःशुल्क जग्गा दान गर्ने सिदराज रोकाया, जनक रोकाया र रमेश रोकाया लगायतका जग्गा दाताहरूलाई समेत दोसल्ला तथा सम्मान गरिएको थियो ।
१२ फागुन २०७८, बिहीवार २१:५५ बजे प्रकाशित































