शाहद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
नेपाल तरुण दलका पूर्वउपाध्यक्ष कमलबहादुर शाहले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।आफ्नै गृह क्षेत्र कैलालीको लम्कीमा पत्रकार सम्मेलन गर्दै उनले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नीति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त कांग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफूले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने शाहले बताए।
उनले आफू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको विभिन्न विभागमा रहेर काम गरिसकेको र ९औं महाधिवेशनदेखि पार्टीको महाधिवेशन, महासमिति सदस्य भएर काम गरेको जानकारी दिँदै पार्टीलाई थप सशक्त बनाउन १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए।
देशलाई सही दिशामा डो¥याउन आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो बनाउन नेतृत्वमा युवाको उपस्थिति आवश्यक रहेको देखिएपछि उम्मेदवारी दिने घोषणा गरेको उनको भनाइ छ।
आफू केन्द्रीय सदस्यमा विजयी भए कांग्रेसलाई जनमुखी, संगठित एवं व्यवस्थित बनाउने अभियान अगाडि बढाउने भन्दै पार्टीलाई युवामैत्री बनाउन लागिपर्ने उनले बताए।
१३ मंसिर २०७८, सोमवार १८:०१ बजे प्रकाशित































