निर्वाचन आयोग पुगेर फर्किए माधव नेपाल पक्षका नेता
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् ।सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए ।
आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको जवाफ दिएका थिए ।
सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो ।
सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।संसद छलेर अस्थिरता निम्त्याउने अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ ।
२ भदौ २०७८, बुधवार १५:०१ बजे प्रकाशित































