प्रहरी हुँ भन्दै रकम असुली र कुटपिट आरोपमा दुई जना पक्राउ
सादा पोसाकमा खटिएर प्रहरी हुँ भन्दै रकम असुली र कुटपिट आरोपमा दुई जना पक्राउ परेका छन्। आफूहरूलाई प्रहरी बताउने कनकाई नगरपालिका–७ निवासी ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ स्थित पश्चिम धर्मकाँटा निवासी ३२ वर्षीय टीका खत्री पक्राउ परेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए।
पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ। प्रहरीका अनुसार साउन ११ गते दिउँसो बिर्तामोड नगरपालिका–५ जात्रुबारी निवासी नयनसरी राजवंशीको घरमा ’हामी सादा पोसाकमा खटिएका प्रहरी हौं’ भन्दै उप्रेती र खत्री पुगेका थिए।
प्रहरी हुँ भन्दै घरमै गएर रकम माग्ने र कुटपिट गरेपछि नयनसरीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनिमा घटनाको विषयमा लिखित उजुरी दिएका थिए। प्रहरीमा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा उप्रेती र खत्रीलाई प्रहरीले साउन २८ गते पक्राउ गरेको डिएसपी थापाले बताए।
२९ साउन २०७८, शुक्रवार १८:४८ बजे प्रकाशित































