punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा दैनिक विद्युतभार कटौतीले उपभोक्ता मारमा

Chaupati
safha napa

डोटी जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युत्भार कटौतीले उपभोक्ता मारमा परेका छन्। विशेषगरी यहाँका मिल तथा इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको केबी स्टिल तथा फर्निचर उद्योगका दिपायल पिपल्लाका व्यापारी कमरुद्दिन हुसेनले जानकारी दिए। नले भने, “दैनिक विद्युत् अनियमितताका कारण मिल तथा उद्योग व्यवसायी बढी मारमा परेका छौँ।”

मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा जानकारी गर्दा पनि सुनुवाइ नभएको यहाँका व्यवसायीको आरोप छ। अघोषितरुपमा भइरहेको विद्युत्भार कटौतीले गर्दा यहाँ नागरिकको आक्रोस र गुनासो दिन प्रतिदिन बढिरहेको दीपक इलोक्ट्रोनिक तथा सप्लायर्सका प्रमुख दीपकबहादुर भण्डारीले बताए।

उनका अनुसार साँझ र बिहानपख तालिका विना अघोषित विद्युत्भार कटौती हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन्। विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रसारण हुन नसकेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले जानकारी दिए।

पछिल्लो समय विद्युत् अनियमितताका कारण बैंक तथा सहकारीमा असर पुगेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रबन्धक गणेशबहादुर विष्टले बताए। उनले भने, “दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमासमेत समस्या हुने गरेको छ।”

विद्युत् क्षणमा आउने क्षणमा जाने हुँदा वैकल्पिक ऊर्जाका रुपमा प्रयोग गरिने जेनेरेटर पनि खोल्ने र बन्द गर्ने अनावश्यक सास्ती मात्रै भइरहेको पिपल्लाका मिल व्यवसायी मोहन मलासीले बताए। उनले भने, “मिलमा पिठो तथा तेल पेल्न राखिएको हुन्छ त्यसैबेला बत्ती जान्छ जेनेटर खोलौँभन्दा बत्ती आउँछ, बन्द गर्दा विद्युत् जान्छ, दैनिक निकै समस्या भएको छ।”,

विद्युत् कार्यालय दिपायलका प्रमुख कुम्भराज जोशीले वर्षासँगैको हावाहुरीका कारण पुराना बिस्तार गरिएका विद्युत् तारमा रुखका हाँगा लाग्ने र फल्ट बढी हुने भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान गर्नतर्फ पहल भइरहेको बताए।

उनले भने,“विद्युत् तार अव्यवस्थित छन्, सानो वर्षा हुँदा र हावा चल्दा तारमा छुने भएकाले विद्युत् जाने आउने गरेको हो, नयाँ तार बिस्तारका लागि बजेट छैन तैपनि हामी सकेसम्म समस्याको समाधानका लागिपरेका छौँ।”

विद्युत नियमितताका लागि यहाँका उपभोक्ताले सम्बन्धित निकाय तथा प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गर्दासमेत समाधान नभएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए।

उनले भने, “जिल्लाका अन्य ठाउँमा पनि पुरानै तार बिस्तार छन्। दिपायल र सिलगढीमा मात्रै विद्युत् अनियमितता हुने गरेको छ, उक्त समस्यामा समाधानका लागि सबै निकायमा आग्रह गर्दा पनि कसैले वास्ता गरेनन्।”रासस


२९ साउन २०७८, शुक्रवार १८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु